लक्ष्मण ढुंगाना
मंगलबार, जेठ २८, २०७६
550

सहकारीको करोडौं हिनामिना प्रकरण

बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ हिनामिना भएको पाइएको छ । संस्थाका चारजना कर्मचारीको मिलेमतोमा करिव ३८ करोड रुपैयाँ हिनामिना भएको पाइएको हो । यसअघि सहकारीको आन्तरिक छानबिन समितिले करिव २६ करोड अपचलन भएको निष्कर्ष निकालेको थियो । रकम हिनामिनासम्बन्धी विवाद चुलिँदै गएपछि जेठ १४ गते जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष नवराज उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक अनुसन्धान तथा अनुगमन समिति गठन भएको हो । समितिले आइतबार बुझाएको प्रतिवेदन अनुसार सहकारीमा ३८ करोड १७ लाख ५० हजार ५ सय ४४ रुपैयाँ हिनामिना भएको पाइएको छ । सहकारीका प्रमुख व्यवस्थापक गोपाल भण्डारी, प्रबन्धक अरुणकुमार पाठक, नायव महाप्रबन्धक गंगाधर सुवेदी, खजुरा शाखाका प्रमुख सूर्यकुमार विक र बैजापुर शाखा प्रमुख लिलाधर वलीले संस्थाको ऋण लगानी नीति सञ्चालक समितिको निर्णय र संस्थाको पुँजीकोष भन्दा बढी ऋण लिए दिएको पाइएको उल्लेख गरिएको छ । नियमविपरित ऋण लिने÷दिने कार्यमा संलग्न रहेको भन्दै संस्थाका पाँचैजना कर्मचारीलाई दोषि देखाइएको छ । यसअघि प्रमुख व्यवस्थापक भण्डारीलाई निर्दोष देखाइएको थियो । प्रतिवेदनअनुसार शाखा प्रमुख अरुणकुमार पाठक जिम्मेवार रहेको नेपालगन्ज शाखाको ऋणफाँटबाट २१ करोड ४३ लाख ८५ हजार ४६० रुपैयाँ हिनामिना भएको देखिएको छ भने मुख्य शाखा नेपालगन्जको बचत फाँटबाट १६ करोड २ लाख ९८ हजार ५८२ हिनामिना भएको देखिएको छ । उक्त फाँटको जिम्मेवारी गंगाधर सुवेदी रहे पनि आलोपालो गरी मुख्य व्यवस्थापक गोपाल भण्डारी, अरुणकुमार पाठकसमेत बस्ने गरेको बताइएको छ ।त्यस्तै खजुरा शाखाका प्रमुख सूर्य विकले ६६ लाख ४४ हजार ७२८ हिनामिना गरेकोमा ३० लाख ६९ हजार जम्मा गरिसकेकाले ३५ लाख ७५ हजार तिर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ । त्यस्तै बैजापुर प्रमुख लिलाधर वलीको ४ लाख २१ हजार ७७४ हिनामिना देखिएको र नपुग भएको रकम समेत १० लाख ९२ हजार तिर्नुपर्ने देखिएको छ । कारोबार गर्दा निकै लापरवाही गरेको पाइएको छ । प्रतिवेदनअनुसार खाली तमसुकमा सहीछाप गरी रकमको अंक नलेखेको, तमसुकमा उल्लेखित रकम भन्दा ऋण लेजरमा बढी ऋण लगानी गरेको पाइएको र गोश्वारा भौचर विना कारोबार गरेको पाइएको छ ।त्यस्तै संस्थाको कारोबार लामो समयदेखि जोखिम हुँदै आउनुमा सहकारी मूल्य मान्यता तथा राष्ट्रबैंकबाट दिएको निर्देशनविपरित कार्य गर्नमा संस्थाका उच्चपदस्थ कर्मचारीको लापरवाही रहेकाले सम्पूर्ण वित्तीय जिम्मेवारी उनीहरूको रहेको उल्लेख गरिएको छ । त्यस्तै नैतिक जिम्मेवारी सञ्चालक समिति लेखा सुपरीवेक्षण समिति र ऋण उपसमितिको रहने जनाइएको छ । संस्थाका अध्यक्ष हरदेवबक्स चौधरीले संस्थामा ठूलो रकम गोलमाल भएको बताउँदै पूर्ण प्रतिवेदन आएपछि सवै विवरण सार्वजनिक गर्ने जानकारी दिए ।
ग्राहकको ७१ लाख फिर्ता बिहीबारदेखि ग्राहकको पैसा फिर्ता गर्न सुरु गरेको संस्थाले हालसम्म ७१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरेको जनाएको छ । जसमध्य पहिलो दिन सय जना ग्राहकको ३३ लाख ६० हजार ९ सय रुपैयाँ फिर्ता गरेको थियो भने सोमबार १ सय ८ जना ग्राहकको ३७ लाख ७७ हजार फिर्ता गरीसकिएको अध्यक्ष चौधरीले जानकारी दिए । सहकारीले सुरक्षाका दृष्टिकोणले ठूलो संख्यामा प्रहरी परिचालन गरेर ग्राहकको बचत रकमबाट १० प्रतिशत फिर्ता गर्न सुरु गरेको हो । सोमबार सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जले हिनामिना भएको ग्राहकको पैसा फिर्ता गर्ने सूचना पाएपछि ग्राहकहरू विहान चार बजेदेखि नै लाइनमा लागेका थिए । २०५१ सालदेखि सञ्चालनमा आएको सहकारीमा सामान्यरूपमा दैनिक बचत गर्नेदेखि २ करोडसम्मका बचतकर्ता छन् । ग्राहकले विश्वास गरेर जम्मा गरेको रकममा सहकारीकै कर्मचारीको मिलेमतोमा हिनामिना भएपछि सहकारीप्रतिको ग्राहकको विश्वास गुमेको छ । पीडितहरूले हिनामिना प्रकरणको सत्यतथ्य छानबिन गरेर दोषीलाई कार्वाही गरी आफ्नो रकम फिर्ता गर्न माग गरेका छन् ।