सागर परियार
मंगलबार, जेठ २८, २०७६
402

जुम्लामा डेढ दर्जनभन्दा धेरै बैंक र एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् । क्रमिक रूपमा जुम्लामा बैंक तथा वित्तीय संस्था थपिने क्रम रोकिएको छैन । तर जुम्लाका व्यवसायी, व्यापारी र नीजि क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक लाभ लिन नसकेको गुनासो गरेका छन् । होटल व्यवसायी नुर्वु लामाले सरकारीदेखि नीजि बैंकसँग समन्वय गर्दा पनि ऋण नपाउँदा होटल सञ्चालनमा कठिनाइ भएको बताए ।
यता, उद्योग वाणिज्य संघका अध्यक्ष रज्जवअलि मनिहारले जुम्लामा उद्योगी, व्यापारी तथा नीजि क्षेत्र र बैंक वित्तीय क्षेत्रबीच आवश्यक समन्वय नहुँदा लाभ लिन नसकेको बताए । साना ठूला गरी जुम्लामा झन्डै १० हजार बढी उद्योगी व्यापारी छन् । एपीवान ब्रान्डी, आरके स्याउ प्रशोधन उद्योग, तरकारी फर्मलगायतका उद्योग सञ्चालकले ऋण नपाएको गुनासो गरेका छन् ।

यता, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पनि बैंकिङ क्षेत्रबाट नीजि क्षेत्रले लाभ लिन नसक्नुु दुखद पक्ष भएको बताए । “बैंकिङ पहुँच बढ्नु मात्र ठूलो कुरा होइन,” उनले भने, “सर्वसाधारणदेखि उद्योगी व्यापारीले लाभ लिए नलिएको कुरामा ध्यान दिनुपर्छ ।”

सिद्धार्थ बैंकको शाखा विस्तार
सिद्धार्थ बैंक लिमिटेडले जुम्लामा शाखा विस्तार गरेको छ । बैंकले १२२ औं शाखाका रूपमा शाखा स्थापना गरेको हो । शाखाको औपचारिक उद्घाटनका क्रममा बंैक तथा वित्तीय क्षेत्रका सेवालाई उद्योेगी व्यापारीमा पु¥याउन सुझाव दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बैंकबाट नीजि क्षेत्र तथा निर्माण व्यवसायीले ऋण नपाएको गुनासो गरे । जुम्लामा दर्जनौं बैंक भित्रिए पनि सेवा प्रवाहमा नाफामुखी प्रवृत्ति देखिएको उनको भनाइ छ ।
“हामीले बैंकलाई अझै काम दिन सकेका छैनौं,” नगरप्रमुख कान्तिका सेजुवालले भनिन्, “आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षाको काम पनि बैंकहरूलाई दिने छौं ।” प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छरिएको पुँजी व्यवस्थापनका लागि बंैकको भूमिका महत्वपूर्ण हुने बताइन् ।
सिद्धार्थ बैंकका कार्यकारी निर्देशक सुन्दरप्रसाद कँडेलले स्थानीय उद्योगी, व्यवसायीका गुनासा सम्बोधन गर्ने बताए ।