लक्ष्मण ढुंगाना
बुधवार, जेठ २२, २०७६
366

सहकारीको २६ करोड हिनामिना प्रकरण

नेपालगन्ज-केही दिनअघि सहकारी वित्तीय विकास संस्था लिमिटेडको २६ करोड रुपैयाँ हिनामिनाको काण्ड झन रहस्यमय बन्दै गएको छ । हिनामिना काण्डमा सवैभन्दा बढी रकम २२ करोड अपचलन गरी फरार रहेका मुख्य अभियुक्त बैंकिङ प्रबन्धक अरुणकुमार पाठकले सम्पर्कमा आएर केही रकम अपचलन गरेको स्वीकार गर्दै सहकारी अध्यक्षलगायत सञ्चालकलाई समेत रकम अपचलन गरेको आरोप लगाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यक्षलगायत सञ्चालकहरूप्रति आरोप लगाएपछि हिनामिना काण्ड झन् रहस्यमय बनेको हो ।
रकम हिनामिनाको मुख्य आरोपी पाठकले संस्थामा पहिलेदेखि नै रकम अपचलन हुने गरेको भन्दै सहकारीको हरहिसाब गर्न सञ्चालकहरूलाई पटकपटक जानकारी गराउँदा पनि वेवास्ता गरेको बताए । “मैले पटक–पटक आफ्नो दायित्वभित्र पर्ने हरहिसाव मिलन गर्न मुख्य प्रबन्धक र सहायक प्रबन्धकलाई भनेकै हुँ,” उनले भने, “सहकारी डुब्ने भएपछि आफूलाई कोठामा थुनेर सहकारीको रकम अपचलन गरेको भनेर जवरजस्ती कागजातमा हस्ताक्षर गराए ।”

उनले आफूलाई वैशाख १ गते कार्यालयमा बोलाएर ९ करोड ९४ लाख ३६ हजार १ सय ४२ रुपैयाँ हिनामिना गरेको र १२ करोड रुपैयाँ दायित्वभित्र रहेको भन्दै २१ करोड ९४ लाख ३६ हजार १ सय ४२ रुपैयाँको कागजमा जालझेलपूर्वक हस्ताक्षर गराइएको बताए ।
सहकारीले नियमविपरित सन्ध्याकालिन काउण्टरसमेत चलाएर अध्यक्षले सधै बेलुका आएर नियमविपरित खर्च लिएर जाने गरेको र मासिकरूपमा एक लाखभन्दा बढी रकमसमेत लिने गरेको प्रबन्धक पाठकले आरोप लगाए । सहकारीमा भएको २६ करोडको हिनामिनाबारेमा अहिले छानबिन भइरहेको छ । पाठकले छानबिन समितिले तोकेको रकम तिर्न आफू तयार रहेको बताएका छन् ।
जेठ १२ गतेदेखि बन्द रहेको सहकारीमा छानबिन समितिले प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख गरी करिव २६ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन दिएको थियो । हिनामिना रकम मध्य हालसम्म ७७ लाख रुपैयाँ फिर्ता भइसकेको बताइएको छ । सहकारी अध्यक्ष हरदेवबक्स चौधरीले अपचलन भएको केही रुकम जम्मा भइसकेको र त्यो रकम क्रमस फिर्ता गरिने बताए ।
रकम हिनामिना भएपछि अपचलन भएको रकमबारे अध्ययन गर्न भन्दै २६ गतेसम्मका लागि सञ्चालक समितिले बैंैंकिङ कारोबार स्थगन गर्ने निर्णय गरेको छ । सहकारीले भने आन्तरिक हिसाब छिट्टै मिलान गरी संस्था नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । हाल पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो विषय टुंगो नलाग्दासम्म प्रहरीको नियन्त्रणमै रहने र छानविन समितिको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । २०५१ सालमा स्थापना भएको सहकारीमा १४ हजार बढी ग्राहक छन् ।