कारोबार संवाददाता
मंगलबार, जेठ २१, २०७६
157

 नेपाल इन्भेस्टमेन्ट बैंकले १०.५० प्रतिशतका दरले प्रत्येक ६—६ महिनामा ब्याजको भुक्तानी गर्ने गरी २ अर्ब रुपैयाँको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड २०८२’ ऋणपत्र निष्कासन गर्ने भएको छ ।
जेठ २४ गतेबाट निष्कासन गर्न लागेको ऋणपत्र निष्कासनका लागि धितोपत्रबोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको भन्दै कम्पनीले ऋणपत्रलाई एनआईबीएल बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरूप ऋण प्रयोजनका लागि योग्य मानिने र थप, स्टक एक्सचेन्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको जनाएको छ ।

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पुँजीका रूपमा ऋणपत्र निष्कासन गर्ने भएको हो र यसअघि पनि ७५ करोड रुपैयाँको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड २०७८’ र ५० करोड रुपैयाँको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड २०७७’ लगायत अन्य निष्कासनहरू पनि गरेको थियो जुन बजारमा सफल हुन गएको थियो ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्कासन गर्ने छ र सोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।