कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
214

नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था ÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३”बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरिएको छ । नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी भएको भन्दै कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको जनाएको छ । कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्नुको साथै एटिएम र पीओएससञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।