कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६
251

 राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वाषिकोत्सवको अवसरमा ०७५ माघ १० गते घोषणा गरिएको आव ०७४÷७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरू तथा कर्मचारीहरूलाई एक समारोहकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष महेन्दमान गुरुङले पुरस्कार वितरण गरे ।
कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार वित्त विभागका विभागीय प्रमुख मुख्य प्रबन्धक विमल डंगोललाई नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेबापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।
सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रबन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरूलाई नगद १० हजारदेखि ३० हजार रुपैयाँसम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी उत्कृष्ट कार्य गर्ने ५ जना शाखा प्रबन्धकलाई पनि पुरस्कृत गरियो ।
साथै कर्मचारीहरूलाई विषगत प्रशिक्षणसमेत प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकहरूलाई पुरस्कार प्रदान गर्नु हुंँदै बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनुपर्ने विचार व्यक्त गरे ।