भुवन पौडेल
बिहिवार, जेठ २, २०७६
395

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २० प्रतिशतले नाफा बढाएका बैंकलाई चौथो त्रैमासमा सोही अनुपातमा नाफा कमाउन भने सकस पर्ने भएको छ । चैतमा बैंकहरूले आधार ब्याजदर घटाएको र स्प्रेड दर पनि ४.७५ प्रतिशतमा झारेको हुनाले नाफा घट्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चैत मसान्तसम्मा निक्षेप र कर्जाको ब्याजदर अन्तर ५ बाट घटाएर ४.७५ र चालू आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले आधार ब्याजदर पनि घटाएनन् । निक्षेपको ब्याजमा भद्र सहमति गरे । तर, कर्जाको ब्याजदर भने स्प्रेडमा खेल्न मिल्नेसम्म बढाएको हुनाले तेस्रो त्रैमासमा नाफा वढेको छ । तेस्रो त्रैमाससम्ममा २८ वाणिज्य बैंकले २ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेर १ खर्ब २८ अर्ब ९२ करोड रुपैयाँ ब्याज खर्च गरेका छन । यो अवधिमा बैंकहरूले ९३ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

केन्द्रीय बैंकले स्प्रेड घाटाएको छ भने बैंकहरूले चर्को ब्याजदरका कारण ऋणीको दबाबले बेस रेट घटाउन परेको छ । केन्द्रीय बैंकले स्प्रेड घटाएपछि बैंकहरूले त्यसमा खेल्ने ग्याप पनि कम हुने र आधार ब्याजदर घटेपछि तेस्रो त्रैमासको ब्याज आम्दानीमा असर गर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “हाल ४.७५ प्रतिशतभन्दा माथि स्प्रेडदर कायम रहेका बेस रेट घटेका बैंकहरूको ब्याज आम्दानी घट्छ,”उनले भने, “वैशाख लागेपछि अधिकांश बैंकहरूले बेस रेट घटाएका छन् ।” बैंकहरूले बेस रेट घटाउँदा ऋणीलाई केही सहज हुन थालेको उनले बताए ।
चालू आर्थिक वर्षको पुसको तुलनामा चैत मसान्तसम्ममा अधिकांश बैंकहरूले स्प्रेड बढाएका छन् भने बेस रेट घटाएका छन् । चैतमसान्तसम्ममा ६ बैंकले मात्र बेस रेट बढाएका छन् । वित्तीय प्रणालीमा स्रोत अभावको समस्या कायम रहने र आधार दर घटेको खण्डमा आम्दानी घट्ने भए पनि बैंकहरूले अन्य शीर्षकहरूबाट आम्दानी गर्ने अर्का एक बैंकरले बताए । “बैंकहरूले घटेको स्प्रेडमा आधार दर पनि घटाउँदा ब्याज आम्दानी घट्ने भएकाले नाफा पनि कम हुन्छ,” ती बैंकरले भने, “तेस्रो त्रैमासको आम्दानी कायम रहे बैंकहरूले अन्य शीर्षकहरूबाट आम्दानीको विकल्प खोजेको स्पष्ट हुन्छ ।”
बैंकहरूको ब्याजदर उच्च भयो भनेर उद्योगी व्यवसायीहरूले समेत विरोध गरेपछि चौथो त्रैमासदेखि आधार ब्याजदर घटाउन थालेका हुन् । उच्च ब्याजदरलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत चैत मसान्तपछि ४.७५ र असार मसान्तपछि ४.५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ । वित्तीय प्रणालीको ब्याजदर अत्यधिक चलायमान भए पनि केन्द्रीय बैंकले हस्तक्षेप गर्दा समेत व्याजदर सन्तुलन हुन नसकेको अवस्था हो । अहिले बैंकिङ क्षेत्रको औसत आधार ब्याजदर ९.६९ प्रतिशत रहेको छ । त्यसैगरी समग्र बैंकिङ प्रणालीको औसत स्प्रेडरेट पनि ४.३९ प्रतिशत रहेको छ । जुन केन्द्रीय बैंकले तोकेको सीमाभित्रै हो ।
पुस मसान्तसम्मको तुलनामा चैतसम्म मसान्तसम्ममा २२ वाणिज्य बैंकले आधार ब्याजदर घटाएका छन् । यो अवधिमा सबैभन्दा धेरै मेगा बैंकले ०.६३ प्रतिशतले आधार दर घटाइ १०.२० प्रतिशतमा झारेको छ । यो अवधिमा सबैभन्दा थोरै एनसीसी बैंकले ०.१ प्रतिशतमात्र आधार ब्याजदर घटाएर १०.८६ मा झारेको छ । चैत अन्त्यसम्ममा सबैभन्दा धेरै आधार ब्याजदर जनता बैंकको ११.६६ प्रतिशत रहेको छ । यो अवधिमा सबैभन्दा थोरै राष्ट्रिय बाणिज्य बैंकको ५.३८ प्रतिशत आधार दर कायम रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले यो अवधिमा ०.२२ प्रतिशतले आधार ब्याजदर बढाएको हो ।