कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
264

सनराइज बैंक तथा बैंक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । चीनको गान्सु प्रान्तले होटल सोल्टी क्राउन प्लाजा, काठमाडौंमा आयोजना गरेको भव्य कार्यक्रमबीच गान्सु प्रान्तका गभर्नर टाङ रेनजियान, कृृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरूबीच आपसी सहयोग, समानता तथा दुईपक्षीय हितका कार्यहरू अघि बढाउने सहमति भएको छ ।


सम्झौताबमोजिम विद्यमान नियम र कानुनको परिधिभित्र रही सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरूबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सनराइज बैंकको यसअघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात व्यापारमा संलग्न ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक वाङ झेजुनले हस्ताक्षर गरेका छन् ।