कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
249

मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्स एक आपसमा मर्जमा भइ राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने भएका छन् । तीन संस्थाले सोमबार एक आपसमा मर्जर हुने सम्झौतासमेत गरिसकेका छन् । सम्झौतापत्रमा मिर्मिरेका अध्यक्ष टेकबहादुर बोहरा, नागबेलीका दीपबहादुर श्रेष्ठ र किसानका नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या कम गर्ने र गुणस्तरी लघुवित्त सेवाको परिकल्पना गरेर मर्जरको नीति लिएपछिको पहिलो मर्जर प्रक्रिया हो । मिर्मिरे माइक्रोफाइनान्सको प्रधान कार्यालय काभ्रेको बनेपा, नागबेली लघुवित्तको प्रधान कार्यालय झापाको बिर्तामोड र किसान माइक्रोफाइनान्सको कैलालीको बलियामा रहेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको हकप्रद निष्कासनको अस्वीकृत गर्दै मर्जरमा लैजाने नीति अवलम्बन गर्न सुझाव दिएको थियो ।

मर्जर सम्पन्न भएपछि बन्ने किसान लघुवित्तको चुक्ता पूँजी ३९ करोड रूपैंयाँ पुग्ने बताइएको छ । मर्जरमा जाने सम्झौता गरेका तीनवटा लघुवित्त कम्पनीहरूको प्रस्ताव गरेको हकप्रद सेयर पनि खारेज हुने भएको छ ।
मर्जरपछिको किसान लघुवित्त वित्तीय संस्था रहने छ भने लघुवित्तको लोगो तथा कार्यालय मिर्मिरे माइक्रोफाइनान्स तथा नागबेलीका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मिर्मिरे माइक्रोफाइनान्सका अध्यक्ष टेकबहादुर बोहरा मर्जरपछि बन्ने किसान लघुवित्तको अध्यक्ष बन्ने छन् । हाल तीनवटै लघुवित्तको गरी १४४ शाखा सञ्चालनमा छन् । मर्जरमा जाने सम्झौतापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन वटै लघुवित्तको सेयर कारोबार पनि रोक्का गरिसकेको छ ।