कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
120

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप आकर्षण गर्न उपहार दिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै निक्षेपमा उपहार नदिन भनेको हो ।
केन्द्रीय बैंकको निर्देशनमा निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन उपहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुन–चाँदीका सिक्का लगायत कुनै पनि किसिमका उपहार प्रदान गर्न पाइने छैन ।

त्यसका साथै केन्द्रीय बैंकले भूकम्पपीडितको परिभाषा दिँदै पुनर्निर्माण कर्जाका लागि कर्जा लिँदा अन्य धितो स्वीकार नहुने व्यवस्था पनि गरेको छ । केन्द्रीय बैंकका अनुसार धितो भन्नाले भूकम्पपीडित निजी आवास पुनर्निर्माण वा प्रवलीकरण लाभग्राहीले निजी आवास निर्माण कर्जा लिएर निर्माण गर्ने वा गरेको घर तथा सो घरले चर्चेको जग्गा सम्झनुपर्ने उल्लेख छ ।
राष्ट्र बैंकले भूकम्पपीडित भन्नाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास पुनर्निर्माण वा प्रवलीकरणका लागि हालसम्म सम्झौता गर्न नसकेको वा सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गरी दोस्रो किस्ता रकम प्राप्त नगरेको र आर्थिक अभावका कारण निजी आवास पुनर्निर्माण वा प्रवलीकरण गर्न नसकेको लाभग्राही सम्झनुपर्ने भनी ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि २०७५ लाई संशोधनसमेत गरेको छ ।