कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
169

सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चौकमा १४ औं शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरूले व्यवस्थापन र सञ्चालन गर्ने गरी प्रारम्भिक रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ ।
सो शाखामा हाल कार्यरत कर्मचारीहरू शाखा प्रवन्धकदेखि मेस्तरसम्म महिलाले नै कार्य गर्छन् । यस शाखामा जम्मा ६ जना महिला आबद्ध छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको ‘बेटी बचाओ, बेटी पढाओ’ नारालाई सार्थक बनाउँदै उदारणका रूपमा यो शाखा स्थापना गरिएको हो ।

यो शाखा सञ्चालनसँगै प्रदेश नं २ मा महिला शाखा खोल्ने सहयोगी सम्भवत प्रथम विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । महिलाहरू पनि बैंकिङ श्रेत्रमा अब्वल हुन सक्छन् र राम्रो व्यवस्थापकका रूपमा प्रस्तुत हुन्छन् भने भनाइमा थप आयाम यस बैंकले दिएको जनाएको छ ।
बैंकले यस क्षेत्रका महिलाहरूको पहँुच बैंकिङ क्षेत्रमा बढीभन्दा बढी होस र महिलाहरूको सुविधामा थप सहयोग पुगोस् भन्ने दृष्टिकोणले यस बैंकले यस प्रदेश नं. २ मा नयाँ अवधारणालाई प्रस्तुत गरेको छ । बैंकको उक्त १४ औं शाखाको अवस्था उत्साहजनक रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए ।
उक्त शाखामा हाल २ सय ५० जनाको खाता सञ्चालनमा ल्याइएको तथा करिब ३ करोड रुपैयाँ निक्षेप जम्मा भइसकेको छ । खाता संख्या र निक्षेप क्रमशः वृद्धि गर्दै लगेको छ । धेरै महिलाहरूले यसै शाखामा बैंकिङ कारोबार गर्न रुचाएको पाएको पनि रिजालले बताए ।