दिलबहादुर केसी
शुक्रवार, बैशाख २७, २०७६
451

 

दोलखामा बृहत् सहकारी सम्मेलन आज (शुक्रबार)देखि चरिकोटमा हुने भएको छ । सहकारी सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजकसमेत रहेका दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।
बृहत सहकारी सम्मेलन मूल आयोजक समितिले विहीबार एक विज्ञप्ति जारी गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा भूमी व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागीताका लागि मन्त्री अर्याल सहितका अतिथिहरु दोलखा आइसकेको आयोजकले जानकारी दिएको छ ।
सम्मेलन झाँकीसहितको रयालीले चरिकोट बजार परिक्रमा गरेपछि ए वान पार्टी प्यालेस चरिघ्याङमा सुरु हुनेछ । सम्मेलनको उद्घाटन सत्रपछि छुट्टा छुट्टै ५ वटा कार्यपत्र प्रस्तुत हुने छ ।
कार्यत्रपका लागि छुट्टा छुट्टै सेसन सञ्चालन हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।
जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सहकारी सम्मेलन हुन लागेको हो । दोलखामा सहकारी अभियान राम्रो भएकाले पनि त्यसलाई थप विकास गर्न बृहत् सम्मेलन गर्न लागेको हो । दोलखाका ५०३ वटा विभिन्न उद्देश्यका सहकारी संस्थामा ६ अर्बभन्दा बढी सम्पत्ति पुगेको छ भने डेढ लाख बढी सेयर सदस्यहरु छन् ।
बृहत् सहकारी सम्मेलनका लागि जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई संयोजक र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्का सहसंयोजक रहेको एक मूल आयोजक समिति बनेको छ । सम्मेलन तयारीका लागि ५ सदस्य सचिवालय समिति, ९ सदस्य आर्थिक व्यवस्थापन, ९ सदस्य व्यवस्थापन, प्रतिवेदन, कार्यपत्र तयारी र सञ्चालनका लागि ५ सदस्य र प्रचारप्रसार, प्रकाशनका लागि अर्को ५ सदस्य उपसमिति बनाएको छ ।
सम्मेलनमा प्रारम्भिक सहकारी संस्थाका २३८, संघका, जनप्रतिनिधिहरु सहित ४ सय बढीको सहभागीता हुने अध्यक्ष चौलागाईंले जानकारी दिए । “सहकारी अभियानको कार्यदिशा, आर्थिक रुपान्तरणका लागि उद्यमशिलता” भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा उद्यामशीलता, सहकारी अभियान र विकास, सहकारी कर्मचारी लगायतका विभिन्न विषयमा ५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यपत्र तयारी र प्रस्तुतिका लागि राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त विज्ञहरुलाई अनुरोध गरिएको उनले बताए ।
सहकारी सम्मेलनले आर्थिक विकासमा सहकारीहरुलाई अझ प्रभावकारी भूमिका खेल्न सक्ने बनाउने सम्मेलन मूल आयोजक समितिका सह संयोजक जीवसराज खड्काले बताए । सम्मेलनमा प्रारम्भिक सहकारी संस्थाका तर्फबाट अध्यक्ष, व्यवस्थापकसहित ३ जनासम्म सहभागी हुने पाउने व्यवस्था छ । सम्मेलनका लागि खर्च व्यवस्थापन प्रारम्भिक सहकारी, स्थानीय तह र सहयोगीहरुबाट संकलन गर्ने योजना रहेको उनले जानकारी दिए ।
सम्मेलन अवधिभरका लागि सहकारीकर्मीहरु नै स्वयम्सेवकको भूमिकामा रहने भएका छन् । विहीबार दिउँसा आयोजक समितिको संयुक्त बैठक बसी अन्तिम तयारी गरेको मूल आयोजक समितिका सह संयोजक जिवसराज खड्काले जानकारी दिए ।
सम्मेलनका लागि २१ लाख खर्च हुने अनुमान गरिएको छ । खर्च व्यवस्थापनका लागि अधिकांश रकम प्रारम्भिक सहकारीहरुबाट उठेको छ । नपुग रकम स्थानीय सरकार, सहकारी विभाग, नेफ्स्कुन लगायतबाट सहयोग लिने योजना छ । सम्मलेनपछि सम्पूर्ण आयव्यय खर्च सार्वजनिक गर्ने र स्मारिका प्रकाशन गर्ने योजना छ ।