कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
453

बिमा कम्पनीसँगको सहकार्यमा आधा दर्जन बैंकहरूले विभिन्न सेवा सर्त राखेर बिमासहितका निक्षेप योजना सार्वजनिक गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप आकर्षित गर्नका लागि विमासहितका योजना ल्याउन थालेका छन् । इस्योरेन्स कम्पनीसँग सहकार्य गरी बैंकहरूले बचत योजनाहरूमा उच्च ब्याजदरका साथसाथै विभिन्न बिमा सुविधासमेत थप्न थालेका हुन् ।
बैंकहरूले ऋण लगानी गर्दा राख्ने धितोको अनिवार्य बिमा गर्दै आएका छन् । यसैगरी केही बैंकहरूले लगानी सुरक्षाका लागि ऋणीको समेत जीवन बिमा गर्ने गरेका थिए । तर, पछिल्लो समयमा बैंकहरूले विभिन्न खाता योजनामा बिमालाई आकर्षक सुविधाका रूपमा प्रचार गर्न थालेका छन् ।

बैंकहरूले सार्वजनिक गरेका विभिन्न वचत खातामा दिने सुविधामध्ये एक बिमा योजना पनि रहेको छ । बिमा कम्पनीसँगको सहकार्यमा आधा दर्जन बैंकहरूले विभिन्न सेवा सर्त राखेर बिमासहितका निक्षेप योजना सार्वजनिक गरेका हुन् । पछिल्लो समयमा एनआईसी एसिया, सिभिल, नविल, एनएमबीलगायतका बैंकले सार्वजनिक गरेका निक्षेप योजनामा विभिन्न जोखिम बहन गर्ने बिमा योजनासमेत दिने बताएका छन् ।
एनआईसी एसिया बैंकले सुरु गरेको चमत्कारिक निक्षेप योजनामा ग्राहकलाई १५ लाखसम्मको दुर्घटना बिमा, १५ लाखसम्मको १८ वटा घातक रोगको बिमा तथा १ लाख ५० हजारसम्मको औषधि उपचार बिमा सुविधासमेत दिएको छ ।
नविल बैंकले ‘नविल केयर’ योजनाअन्तर्गत खातावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख बराबरको बिमा सुविधा उपलब्ध गराउन थालेको छ । बचतकर्ता अन्य कारणले निधन भएमा ७५ हजारको बिमांक रकमसमेत सो योजनाले सुरक्षित गरेको छ । यस योजनामा २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका खातावाललाई मात्र सहभागी गराइएको छ ।
यस्तै सिभिल बैंकले सुरु गरेको सम्मान बचत खातामा पनि ७ लाखसम्मको दुर्घटना मृत्यु÷अपाङ्गता बिमा तथा अस्पताल भर्ना भई लागेको १ लाखसम्मको औषधोपचार खर्चको बिमा पनि निःशुल्करूपमै उपलब्ध गराएको छ । योजनामा ग्राहकहरूले बिमाका सुविधा प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले जनाएको छ ।
पछिल्लो समयमा बैंक र इन्स्योरेन्स कम्पनीबीच ‘बैंकास्योरेन्स’ सम्झौता गरी सहकार्य गर्दै आएका छन् । यस सम्झौतापछि बैंकहरूलाई इन्स्योरेन्सको कर्पोरेट एजेन्सीका रूपमा बिमा लेख बेच्न पाउने अधिकार हुन्छ ।
विगतमा कार्ड सेवा, एविविएस, लकरलगायतका सेवालाई निक्षेप खातामा सर्वसाधारण आकर्षित गर्ने गरे पनि पछिल्लो समयमा बैंकहरूले आफ्ना निक्षेप योजनामा बिमा सुविधा दिएर ग्राहक आकर्षित गर्न थालेका हुन् । बिमाप्रति सर्वसाधारणको आकर्षण र चासो वृद्धि भएसँगै यसतर्फ बैंकहरूले फोकस गरेका छन् ।
बैंक र इन्स्योरेन्स कम्पनीबीचको सहकार्यले दुवै पक्षलाई फाइदा भएको बताउँछन् ज्योती लाइफ इस्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री । बैंकहरूले आफ्ना योजनामा बिमा सुविधा जोड्दा बिमाको पहुँच पनि विस्तार भएको र बिमा साक्षरता पनि बढेको उनको भनाइ छ ।