कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
224

रामेछापका सहकारीहरू सेयर सदस्य मैत्री हुनुपर्नेमा जोड दिइएको छ ।
शनिबार मन्थलीमा गौरीशंकर क्लस्टरको १८ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै प्रदेश नम्बर तीनका सांसद शान्तिप्रसाद पौडेल लगाएतले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिँदै यस्तो बताएका हुन् ।

उनले सहकारी संस्थाहरूले सेयर सदस्यमैत्री व्यवहरा गर्न आग्रह गरेका छन् । उनलेसबै सहकारी हरूले शेयर सदस्यहरूलाई प्रत्यक्ष फाइदा पुग्ने गरी काममा लाग्न पनि आग्रह गरे । पछिल्लो समयमा सहकारी संस्थाहरूले अनुत्पादक क्षेत्रमा ऋण लगानीमा बढी केन्द्रित हुन थालेको भन्दै सांसद पौडेलले ऋण लगानीले मात्रै सहकारी र सेयर सदस्यहरूका विकासमा सहयोग नपुग्ने भन्दै सहकारीहरूले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे ।
त्यस्तै उनले प्रदेश तीन सरकारले सहकारी ऐन बनाइसकेकाले त्यसको कार्यन्वयले सहकारीको संस्थागत विकासमा थप टेवा पुग्ने बताए । प्रदेश सरकारले बनाएको सहकारी ऐनमा एउटा सहकारीमा सदस्य बनेको व्यक्ति अर्को सहकारीको सदस्य बन्न नपाउने गरी आउने तयारीमा रहेको भन्दै प्रभाव र असरका वारेमात्यसको कस्तो असर पर्छ भन्ने विषयमा छलफल गरेर सरकारलाई सुझाव दिनसमेत उनले आग्रह गरे ।
कार्यक्रममा नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष श्याम थापाले सहकारीहरू बीच एकआपसमा सहकार्य नहुँदा बैंकहरूसँग प्रतिस्पर्धाले थप चुनौती थपिदै गएको बताए । गोष्ठीमा गौरीशंकर कलस्टरअन्तर्गत मन्थलीको मन्थली बचत साहारा वचत र दोलखाबाट समेत गरी १० ओटा सहकारीहरूको सहभागिता छ ।
बैठकमा सबै सहकारीहरूले गत तिन महिनाका अवधिमा भए गरेको प्रगति र आगमी तीन महिना भित्र आफ्नो सहकारीलाई उत्कृष्ट बनाउने गरी कार्ययोजनासमेत तयार गर्न लगेको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।