कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
595

नेपाल बैंकले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तीय समावेशीता अभिवृद्धि गर्ने उद्देश्यले हालै ल्याएको समृद्धिसँगै जोडौं नाता ः सबै नेपालीको बैंक खाता नाराका साथ शुभारम्भ गरिएको खोलौं खाता अभियानलाई सफल गराउन विशेषः संस्थागत पहल अघि बढाएको छ ।
यस क्रममा नव वर्ष २०७६ को उपलक्षमा दिइएको सार्वजनिक बिदाको दिनसमेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार–प्रसारसहित नेपाल बैंकद्वारा सर्वसाधारणलाई समृद्ध नेपाल अभियान बचत खाता खोल्ने सेवा सञ्चालन गरिएकोमा पहिलो दिन नै ७ सय बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएको बैंकले जनाएको छ ।
कुनै पनि बैंकमा खाता नभएका नेपालीले आफ्नो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैंकका कुनै पनि १ सय ६१ शाखाबाट खोल्न सकिने यस खाताका लागि आवश्यक १ सय रुपैयाँ बैंक स्वयंले बेहोर्ने भन्दै बैंकले अभियानमा सहभागी बचत ग्राहकलाई ५.२५ प्रतिशतको आकर्षक ब्याजदरसहित कुनै पनि शाखा सेवा (एबीबीएस), एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कुनै पनि शाखाबाट चेक लिन सकिने लगायतका सुविधाहरू निःशुल्क नै उपलब्ध हुने पनि जनाएको छ ।