कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
642

इलाम- माछापुछ्रे बैंक इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन जडान गरेको छ । बैंकको सामाजिक उत्तरदायीत्व बहन कार्यक्रमअन्तर्गत दुइटा पानी शुद्धीकरण मेसिन जडान गरेको हो ।
प्राध्यापक र कर्मचारीलाई प्रयोग गर्ने गरी एउटा साथै विद्यार्थीहरूका लागि एउटा गरी छुट्टा–छुट्टै रूपमा दुइटा मेसिन जडान गरिएको छ । पानी जम्मा गर्ने गरी दुइटा दुई हजार लिटर पानी जम्मा गर्ने ट्यांकी समेत राखिएको बैंकका शाखा प्रमुख गोविन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार खानेपानी मेसिन राख्ने भवन र मेसिन गरी जम्मा ८ लाख ८७ हजार खर्च भएको छ ।

बुधबार एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सो खानेपानी मेसिनको उद्घाटन गरे । मेसिन उद्घाटन पछि मेयर बस्नेतले खानेपानी समस्या समाधानमा बैंकको सो कार्यप्रति प्रशंसा गरे । उनले अब नियमित पानी पठाउन नगरपालिकाले अझ पहल गर्ने बताए । पानीकै कारण विभिन्न रोग निम्तिने भएकाले स्वास्थ्यको ख्याल गर्दै बैंकले पानी शुद्धीकरण गर्ने मेसिन जडान गरेको भन्दै क्याम्पस प्रमुख रामप्रसाद गुरगार्इँले धन्यवाद व्यक्त गरे । उनले यसलाई संरक्षण गर्न आफूहरू लाग्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।
बुधबारबाटै संरक्षण र सफाइ गर्ने जिम्मा क्याम्पसकै भएको भन्दै यसलाई जोगाउन क्याम्पस आफैं लाग्नुपर्ने शाखा इलामका बजार प्रमुख भवानी ढकालले वताए ।