कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
569

२०७५ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदद भने बढाएका छन् । बैंकहरूले स्रोत अभावमा कर्जा प्रवाह नियन्त्रण गरेकाले ब्याजदर बढेको हो ।
नेपाल राष्ट्र बैंकले २०७४ फागुनमा ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको जनाएको छ । वाणिज्य बैंकहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७४ फागुनको ४.८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५.१५ प्रतिशत कायम भएको छ । त्यसैगरी वाणिज्य बैंकहरूको औसत आधार दर २०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा २०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको छ । २०७५ फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत छ ।

२०७५ फागुन मसान्तसम्म कुल १६५ वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२३ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।
चालू आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
पागुनसम्ममा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६६२ अर्ब ७० करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
चालू आवको फागुनसम्ममा चालू खाता घाटा विस्तार भई १९१ अर्ब १३ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५४ अर्ब ९९ करोड रूपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ५१ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रूपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रूपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार २०७५ फागुनमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ को आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो ।
२०७५ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा १३१ अर्ब ९४ करोड रूपैयाँ (स्थानीय तहको खातामा रहेको ५० अर्ब ९६ करोडसमेत) नगद मौज्दात रहेको छ ।