कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
489

बाँकेमा सहकारीहरूको संख्या ४ सय ९ पुगेको छ । ती सहकारीमा १ लाख ६५ हजार सदस्य आबद्ध छन् ।

नेपालगन्ज-सहकारीका सञ्चालकहरूले बाँकेमा खुलेका सयौं सहकारी तथा बचत संस्थाले गर्दा सीमापारी जाने गरेको करोडौं रुपियाँ जोगिएको दाबी गरेका छन् । सीमापारीका भारतीय बजारमा सञ्चालित बैंक तथा सहकारीमा जम्मा हुने गरेको करोडौं रूपैयाँ अब नेपालमै जम्मा भइरहेको उनीहरूको भनाइ छ ।
केही वर्ष पहिलेसम्म सीमापारीका भारतीय बजारमा रहेका बैंक तथा सहकारीमा करोडौं रूपैयाँ नेपालगन्ज बजारबाट बचतका रूपमा बाहिरिने गरेकोमा नेपालगन्जमै दर्जनौं सहकारी खुलेपछि सो क्रम रोकिएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए । “भारतीय बैंक तथा विभिन्न सहकारीका एजेन्टले नेपालगन्जबाट स–सानो बचत रकम दैनिक जसो सीमापारी पु¥याउँथे । तर, बाँकेमा सहकारीहरूको संख्या बढ्दै गएपछि भारतमा गएर बचत गर्ने क्रम रोकिएको छ,” सुवेदीले भने । उनले नेपालगन्जमा बचतका लागि सहकारीहरूको स्थापना भएपछि नेपाली पूँजी बाहिरिने क्रम रोकिएको दाबी गरे ।

अध्यक्ष सुवेदीले जिल्ला सहकारी संघले एक सहकारी एक उत्पादनको नीति लिएको उल्लेख गर्दै स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्न लागिएको जानकारी दिए । “एक वर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौं,” अध्यक्ष सुवेदीले भने । हाल एक सहकारी एक उत्पादनअन्तर्गत हाल ५ वटा सहकारी उत्पादनसँग जोडिएका छन् । सहकारी बजार स्थापनापछि आगामी वर्षसम्म उत्पादनमा जोडिने सहकारीहरूको संख्या २० पुग्ने उनले जनाए ।
बाँकेमा सहकारीहरूको संख्या ४ सय ९ पुगेको छ । संघका अनुसार बाँकेमा रहेका सहकारीमा १ लाख ६५ हजार सदस्य आबद्ध छन् । १ हजार ६ सयलाई सहकारीले रोजगारी दिएको छ । २७ सयभन्दा बढी सहकारीको सञ्चालक समितिमा आबद्ध छन् ।
बाँकेमा बचत तथा ऋणसँगै कृषि क्षेत्रमा पनि सहकारी संस्था सक्रिय रहेका छन् । बाँकेमा सहकारीले दैनिक ८ हजार लिटर दूधको कारोबार गर्ने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
जिल्लामा वार्षिक १ हजार ५ सय मेट्रिक टन बढी धान र १ हजार मेट्रिक टन गहुँको बिउ सहकारीहरूले तयार गर्ने गरेका छन् । नेपालमा हाल ३४ हजार ५ सय १२ सहकारी संस्था रहेका छन् । जसमा ६२ लाख भन्दा बढी सेयर सदस्य आबद्ध छन् । सहकारीको बार्षिक कारोबार चार खर्ब बढी रहेको अनुमान छ । नेपालमा कुल गाहस्थ्र्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अध्यक्ष सुवेदीले बताए ।