कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
452

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।
पोखरेललाई चैत १८ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । ०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अगाडि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेको बैंकले जनाएको छ ।
व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित रहेको विज्ञप्तिमा उल्लेख छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भद्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताएका छन् । नीति नियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु-याँउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । वरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट सञ्चालित छ ।