कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
425

आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय भानू, तनहुँमा आबद्ध सदस्यहरूमध्ये ७५ जना महिला सदस्यलाई निःशुल्क रूपमा लुगा धुने साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा प्रमुख रिता श्रेष्ठले यस्ता सीपमूलक तालिमहरूबाट यस क्षेत्रका विपन्न महिलाहरूको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरूले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरूमार्फत झन्डै ३ सय १९ जना विपन्न महिलाहरूलाई यस प्रकारका सीपमूलक तालिमहरू प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरू सम्पूर्ण शाखा कार्यालयहरूबाट सञ्चालन गरी सदस्यहरूको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रूपमा स्वीकृति प्राप्त आशा लघुवित्तले ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरूका ४५ शाखा कार्यालयहरूमार्फत करिब ४२ हजारभन्दा बढी सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म १ अर्ब ५७ करोड तथा कर्जा लगानी तथा सदस्यहरूबाट ३८ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।