यादव हुमागाई
बुधवार, चैत्र ६, २०७५
1039

सर्वसाधारणमा सहकारीप्रतिको छवि सुधार्न बचत तथा ऋण सहकारी संस्थाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रमाणीकरण गर्ने ब्रान्डिङ कार्यक्रममा आकर्षित हुन थालेका छन् । सिद्धान्ततः स्वनियमनमा चल्ने भए पनि सहकारी संस्थालाई दिगो तथा सुरक्षित बनाउन ब्रान्डिङ कार्यक्रमले सहजीकरण गर्ने भएकाले यस्ता कार्यक्रममा संस्थाहरूको सहभागिता बढ्दै गएको हो ।
हाल बचत तथा ऋण सहकारी संस्थाहरूको छाता निकाय नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) ले तीन वटा ब्रान्डिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०६४÷६५ देखि एसियाली ऋण महासंघ (अक्कु) सँग मिलेर अन्तर्राष्ट्रियस्तरको (एवन कम्पेटीटीभ च्वाइस फर एक्सेलेन्स सर्भिस एन्ड साउन्डनेस) एक्सेस ब्रान्डिङ सुरु गरेको नेफ्स्कुनले चार वर्षदेखि नेपालस्तरको पूर्ण तथा व्यावसायिक साकोस (प्रोबसन) र गत वर्षदेखि जोखिममा आधारित सुपरिवेक्षण (क्रब्स) ब्राण्डिङ समेत सञ्चालन गरिरहेको छ । तीनवटै स्तरीकरण कार्यक्रममा गरी हालसम्म करिब पाँच सय बचत तथा ऋण सहकारी आवद्ध भएको र यो संख्या बृद्धि भइरहेको नेफ्स्कूनले जनाएको छ ।

नेफ्स्कूनका अनुसार ७ वटा संस्थाबाट सुरु गरिएको एक्सेस कार्यक्रमको छैटौं ब्याच चलिरहेको छ । यस कार्यक्रममा हाल ५२ वटा संस्था आवद्ध छन् ।
एक्सेस कार्यक्रममा आवद्ध संस्थालाई विभिन्न ८६ सूचकका आधारमा संस्थालाई मूल्यांकन गरिन्छ । जसमा संस्थाको सदस्य र पुँजी वृद्विका साथै लेखा प्रणालीको विकास, सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धिलगायतका सूचक छन् । यस्तै संस्थाको वचत संकलन, ऋण परिचालन नीति तथा कार्यक्रमका साथै सञ्चालन प्रक्रिया, महिला, युवाको सहभागितालगायतका आधारमा पनि मूल्यांकन गर्ने विधि विकास गरिएको छ ।
कार्यक्रममा सहभागी हुने संस्थालाई नेफ्स्कूनले सहजीकरण गर्छ भने अक्कुका प्राविधिकहरूले अन्तिम लेखापरीक्षण गरेपछि मात्र ब्राण्ड प्राप्त गर्छन् । यस कार्यक्रममा संस्थाहरूले प्लाटेनियम, स्वर्ण, रजत र कास्य गरी चार प्रकारको ब्रान्ड पाउने व्यवस्था छ । कार्यक्रमअन्र्तगत नेपालका संस्थाले रजत र कास्य ब्रान्ड मात्र पाएका छन् । गत वर्ष नेपालका २० वटा संस्थाहरूले एक्सेस ब्रान्ड पाएकोमा ५ वटाले रजत र १५ वटाले कास्य पाएको नेफ्स्कूनले जनाएको छ ।
सहकारीमा सुशासन कायम गर्नकै लागि नेफ्स्कूनले चार वर्षयता नेपाल स्तरको प्रोवेशन ब्रान्डिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रोवेशनमा सहभागि संस्थाहरूलाई ५५ वटा सूचकका आधारमा मूल्यांकन गर्ने व्यवस्था छ । यस कार्यक्रममा सहभागी संस्थालाई नेफ्स्कून र सहकारी विभागले संयुक्त रूपमा मूल्यांकन गरी ब्रान्ड प्रदान गर्दै आएको छ । यस कार्यक्रममा हालसम्म २ सय वटा संस्था सहभागी भएकोमा गतवर्ष २१ वटा संस्थाले ब्रान्ड पाएका थिए ।
नेफ्स्कूनले बचत तथा ऋण सहकारीहरूको अनुगमन गर्नका लागि गतवर्षदेखि जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम समेत सुरु गरेको छ । यस कार्यक्रममा हालसम्म ३२० वटा संस्थाहरू आवद्ध छन् । यस कार्यक्रममा सहभागी संस्थालाई एक वर्षको सम्झौता गरी ३२ वटा सूचकका आधारमा अनुगमन गरिने नेफ्स्कूनले जानकारी दिएको छ । यस कार्यक्रमलाई थप ५ सय वटा संस्थामा विस्तार गर्नका लागि चालू आर्थिक वर्षमा सहकारी विभागले समेत अनुदान दिएको छ ।
नेफ्स्कूनका अध्यक्ष डिबी बस्नेत सुशासनमा सहकारी संचालन गर्न ब्राण्डिङ कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँछन् । “जथाभावी रूपमा सहकारी सञ्चालन गर्दा जुनैबेला जोखिममा पर्न सकिन्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “संस्थालाई व्यवस्थित तथा व्यावसायिकरूपमा सञ्चालन गर्न एक्सेस, प्रोवेसन, जोखिममा आधारित सुपरिवेक्षणलगायका कार्यक्रममा आकर्षण बढिरहेको छ ।”
ब्रान्डिङ कार्यक्रममा आकर्षण बढ्दै गएपछि सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकले समेत यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गरागाईंले अर्को आर्थिक वर्षदेखि सञ्चालन गर्ने गरी कार्यक्रम डिजाईन भइरहेको जानकारी दिए । यसैगरी बैंकले अक्कुको एक्सेस ब्रान्डिङ कार्यक्रम समेत सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ ।
सहकारीका छाता संगठनहरूले पनि सहकारीको कारोबार सुरक्षित बनाउन तथा संस्थाहरूलाई व्यावसायिक र दिगो बनाउन ब्रान्डिङ कार्यक्रमलाई जोड दिएपछि सहकारीको नियामक निकाय सहकारी विभागले समेत यस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्दै आएको छ । ब्रान्डिङ कार्यक्रमबाट सहकारी संस्था सुशासनयुक्त ह्ुने भएकाले सहयोग र सहकार्य गरिएको विभागका उपरजिष्टार नारायणप्रसाद अर्यालले जानकारी दिए ।
सहकारी विभागका अनुसार २०७४ असारसम्म ३४ हजार ५१२ सहकारी संस्था दर्ता भएकोमा १४ हजार बचत तथा ऋण सहकारी रहेका छन् । यसैगरी अन्य विषयगत सहकारीले पनि वित्तीय कारोबार गर्दै आएका छन् । तर सहकारीले सहकारीहरूको प्रभावकारी नियमन गर्न नसक्दा सहकारीमा जोखिम पनि बढिरहेको छ ।