कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५
685

ग्लोबल आईएमई बैंकले सर्वाधिक ब्याजदर १०.२५ प्रतिशतसहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरूमध्ये सबैभन्दा बढी १०.२५ प्रतिशत ब्याजदर रहेको भन्दै बैंकले फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको जनाएको छ ।
५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ५ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ९ लाखकित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको बैंकले जनाएको छ । सर्वसाधारण लगानीकर्तातर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ भने संस्थागत लगानीकर्ताहरूका लागि अधिकतम लगानी सीमा लागू हुनेछैन । सी–आस्बाको माध्यमबाट फागुन १५ गतेदेखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधिभित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्नेछन् ।