कारोबार संवाददाता
बिहिवार, फाल्गुन ९, २०७५
668

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले ८ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाको ब्याजदर नघटेपछि व्यवसायिकको चर्को दवावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा पुनर्कर्जाको ब्याजदर घटाउने निर्णयलाई बुधबार निर्देशन मार्फत कार्यान्वयन सुरु गरेको हो ।
केन्द्रीय बैंकले सामाजिक उत्तरदायित्व र पुनर्कर्जाको सन्दर्भमा निर्देशन जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत छुट्याएको रकम हरेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा दिने पुनर्कर्जालाई ४ प्रतिशतमा झारेर ऋणीले अबदेखि ८ प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा पाउने छन् । निर्यात पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत हुने व्यवस्था कार्यान्वयनमा गएको छ । यसैगरी राष्ट्र बैंकले सोमबार राति सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरेका केही कार्यक्रम कार्यान्वयनमा ल्याउने सिलसिलामा संस्थागत सुशासनमा खर्च गर्नुपर्ने रकममध्ये प्रत्येक प्रतिशतमा १० प्रतिशतका दरले खर्च गर्नुपर्ने निर्देशन पनि जारी गरेको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीलाई बैंकहरूले लिने सबै प्रकारका शुल्कको विवरण तीन दिनभित्र राष्ट्र बैंकमा पठाउन पनि निर्देशन दिएको छ ।
निर्देशनअनुसार बैंकहरूले कर्जा प्रवाहका क्रममा ग्राहकबाट लिने प्रशासनिक शुल्क, प्रतिबद्धता शुल्क, कर्जा अग्रिमरूपमा भुक्तानी गर्दा अग्रिम भुक्तानी शुल्क आदि सबै प्रकारका सेवाशुल्कको विस्तृत विवरण पठाउनुुपर्नेछ ।
परिपत्रअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले अब तीन कार्यादिन अर्थात् आइतबारसम्म सम्पूर्ण बैंकिङ सेवाबापत लिने शुल्कबारे खुलाइ विवरण पठाउनुपर्नेछ ।