कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५
479

नेपाल बैंक लिमिटेडको चालू आर्थिक वर्षको कार्यसम्पादनसम्बन्धी अर्धवार्षिक समीक्षा गोष्ठी हालै काठमाडौंमा सम्पन्न भयो । उक्त गोष्ठीको समापन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैंक लिमिटेडले हाल हासिल गरिरहेका उत्साहजनक उपलब्धि निम्ति सम्बद्ध सबैलाई धन्यवाद दिँदै हालका वर्षहरूमा बैंकिङ क्षेत्रले गरेको मुनाफा उद्यमी व्यवसायी, सञ्चार क्षेत्र र नियामक निकायलगायतका सरोकारवालाबाट प्रश्नवाचक दृष्टिले हेर्ने गरिएको तथा आगामी दिनमा नियमन अरू कडा हुन सक्ने तथा बैंकिङ क्षेत्रमा ठूलै समस्या आउन पनि सक्ने संभाव्य परिदृश्यप्रति हामी सजग रहनुपर्ने आवश्यकता औंल्याए ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बैंकको आगामी व्यवस्थापनले अवका दिनमा बैंकको नाफालाई दिगो गराउन स्रोत परिचालन, व्यावसायिक कारोबारको आकार तथा उत्पादकत्व वृद्धि निम्ति उच्चतम व्यवस्थापकीय सीप कौशलको अभ्यास गर्नुपर्ने आवश्यकतामा जोड दिए । सो अवसरमा बैंकका विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बैंकको शाखा र कारोबार विस्तारकोक्रममा रहेको सन्दर्भमा सबै शाखाबाट प्रविधियुक्त प्रभावकारी सेवा प्रवाह गरेर ग्राहक सन्तुष्टि अभिवृद्धिमा सक्रिय रहनुपर्ने आवश्यकता औंल्याउँदै सम्बन्धित प्रदेशमा रहेका व्यावसायिक संभावनाहरू पहिचान तथा दोहनमा सक्रियता देखाउन प्रदेश प्रमुखहरूलाई आग्रह गरे ।