हरिश चन्द
सोमवार, माघ ७, २०७५
987

डडेल्धुरा-प्रदेश नं. ७ को भौगोलिक केन्द्र बिन्दु मानिने डडेल्धुरा जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई खुसी हुनको साथै आर्थिक कारोबारका लागि सहज हुने भएको छ ।
स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुन थालेपछि सहजता आउने स्थानीय बासिन्दाहरूको विश्वास छ । ७ वटा स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा सदरमुकाम रहेको अमरगढी नगरपालिका र भित्रिमधेस क्षेत्रको केन्द्रविन्दु मानिने परशुराम नगरपालिकामा मात्र केन्द्रित बैंकहरू पछिल्लो समय जिल्लाका अन्य ५ गाँउपालिकामा पनि विस्तार हुने क्रम सुरु भएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको आलिताल गाउँपालिकामा नविल बैंकले शाखा सञ्चालनका लागि अन्तिम तयारी गरेको छ । बैंकले शाखा सञ्चालनका लागि घर भाडामा ल्याएर कार्यालय प्रयोजनका लागि मर्मत सम्भारसमेत गरिसकेको र इन्टरनेट सेवा सुचारु भएसँगै आलितालमा बैंकिङ सेवा सुचारु हुने आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने भागेश्वर गाउँपालिकामा पनि बैंक सञ्चालनका लागि तयारी भइरहेको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकामा पनि विभिन्न निजी क्षेत्रका बैंकहरूले शाखा सञ्चालनका लागि तयारी गरिरहेका छन् ।
स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्माणको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायतका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।
गन्यापधुरा गाउँपालिकामा एभरेस्ट बैंकले शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ भने नवदुर्गा गाँउपालिकामा मेघा बैंकले शाखा सञ्चालनको तयारी थालेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले जानकारी दिए ।
दुई नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका ५ ओटै गाउँपालिकामा एक साता भित्रै विभिन्न बैंकका शाखाहरू सञ्चालनमा आउने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले बताए । ग्रामीण क्षेत्रमा बैंक जानथालेपछि स्थानीय बासिन्दाहरूलाई आर्थिक कारोबारका लागि सहज हुने मात्रै नभई स्थानीय स्तरमा आर्थिक विकास र समृद्धिका लागि पनि बैंक स्थापना हुनु उपलब्धिमूलक हुने नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले बताए ।