कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५
617

संस्थाले गरिबीको रेखामुनी रहेको जनताको जीवनस्तर उकास्ने कार्यक्रम अघि बढाएको छ । मुलुकमा धनी र गरिबबीचको खाडल बढ्दै गएकाले देशलाई ठूलो चुनौती थपिएको छ । संस्थाले गरिबको पहिचान गरेर गाँस, बास, कपासको जोहोदेखि स्वरोजगारका कार्यक्रममा करोडौं रुपैयाँ लगानी गर्दै आइरहेको छ । सहकारीले रोजगारमूलक विकासका कार्यक्रम र उद्योगधन्दा सञ्चालनमा ल्याउने योजना बनाएकाले सीमित सदस्य भन्दा माथि उठेर काम गर्न सफल भएको देखिन्छ ।
“एक समय यस्तो थियो केहि हजार रुपैयाँ आवश्यक परे साहकोमा हात थाप्नु बाहेक विकल्प थिएन, त्यहि ऋणको बोझले धेरै घर खेत गुमाउन बाध्य थिए यहाँका नागरिक । तर अहिले समय फेरिएको छ,” सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी सम्झन्छन् ।

उनी थप्छन्, “अहिले नागरिक नै धनी छन्, चाहिएको समयमा लघुवित्त जान्छन्, ऋण लिन्छन् र व्यवसाय गर्छन् । न यहाँ साहु छन्, नत घर खेतनै गुमाउनु परेको छ ।” सहारा नेपाल सहकारी संस्था लिमिटेड झापा बिर्तामाडले धेरैलाई व्यवसायी बनाएको छ भने धेरैलाई बिदेश पलायन हुनबाट जोगाएको संस्थाको दाबी छ ।
संस्थाले गरिबीको रेखामुनी रहेको जनताको जीवनस्तर उकास्ने कार्यक्रम अघि बढाएको छ । मुलुकमा धनी र गरीब बीचको खाडल बढ्दै गएकाले देशलाई ठूलो चुनौती थपिएको छ । संस्थाले गरीबको पहिचान गरेर गाँस, बास, कपासको जोहोदेखि स्वरोजगारका कार्यक्रममा करोडौं रुपैयाँ लगानी गर्दै आइरहेको छ । सहकारीले रोजगार मूलक विकासका कार्यक्रम र उद्योगधन्दा सञ्चालनमा ल्याउने योजना बनाएकाले सीमित सदस्य भन्दा माथि उठेर काम गर्न सफल भएको देखिन्छ ।
नेपालमा अहिले पनि करिब २० प्रतिशत जनता गरिबीको रेखामुनी रहेका छन् । नेपालको पूर्वी भेगमा गरिबी निवारणका लागि दातृ निकाय, दातृ राष्ट्र, गैरसरकारी संस्था पनि क्रियाशील भएर लागे पनि गरिबी निवारणको क्षेत्रमा सफलता मिल्न सकेको देखिँदैन । यही विद्यमान स्थितिमा गरिबी निवारणका लागि सहकारीले ल्याएका कार्यक्रमले गरिबी निवारण र कृषि क्षेत्रको विकास गर्न सहयोग पुग्ने देखिन्छ । कृषिसँगसँगै पशुपालन तर्फ बनाएको लक्ष्य अन्य संस्थाले अनुकरण गर्न योग्य छन् । संस्थाको माध्यमबाट पूर्वमा गरिबी निवारणमा सहयोग पुग्ने स्पष्ट छ । सहाराले छुटाछुटै शीर्षकमा कार्यक्रम अघि बढाएको छ ।

आवास निर्माणमा सहारा
विपन्न परिवारलाई आवास निर्माणका लागि सहाराले झापाका स्थानीय तहसँग सम्झौता गरेको छ । नगरपालिका तथा गाउँपालिकासँग आवास निर्माणका लागि सम्झौता गरेको हो । चालू आर्थिक वर्षमा झापामा दुई सय आवास निर्माण गर्ने योजना सहाराको छ । ह्याबिट्याट फर ह्युमानेटीसँग साझेदारी गर्दै सहाराले विपन्न परिवारका लागि आवासको कार्यक्रम अघि बढाएको हो ।
स्थानीय तहको आधा लगानी र सहकारीको आधा लगानीमाआवस निर्माण गरिने सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । आवस निर्माण गर्दा आवश्यक पर्ने प्राविधिक सहयोग पनि सहाराले नै गर्ने छ । प्रतिघर १ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । एक घरका लागि सहारा र ह्याबिट्याटले ७५ हजार तथा सम्बन्धित स्थानीय तहले ७५ हजार बेहोर्ने गिरीले बताए । स्थानीय स्रोतको प्रयोग गरेर घर निर्माण हुने छ । घर निर्माणका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था स्थानीय तहले गर्नुपर्ने छ ।
विपन्न परिवारलाई न्यूनतम आधारभूत अन्तर्गत पर्ने आवासको सुविधा उपलब्ध गराउनका लागि कार्यक्रम सुरु गरिएको गिरी बताउँछन् । कार्यक्रमले विपन्न परिवारलाई राहत मिल्ने देखिन्छ । गिरीले भने, “ऋण गरेर पनि घर बनाउन नसक्नेलाई हामी घर बनाइदिन लागेका हौँ ।” झापाको अर्जुनधारा नगरपालिकामा ४०, मेचीनगर नगरपालिकामा १५ र बाह्रदशी गाउँपालिकामा १० वटा घर निर्माण गरिने छ । गौरीगन्ज गाउँपालिका, झापा गाउँपालिका र हल्दिबारी गाउँपालिका, बिर्तामोड नगरपालिका र कनकाई नगरपालिकामा ३०-३० वटा घर निर्माण गर्ने सम्झौता भएको सहारा नेपालका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।
घर ३ धुर जमिनमा निर्माण हुनेछन् । तर, घर निर्माण गर्दा प्रति परिवारलाई ७ देखि १० धुरसम्म जमिन उपलब्ध गराउने बताइएको छ । आर्थिक विपन्नताकै कारण कोही पनि घरबारविहीन हुन नपरोस् भन्ने उद्देश्य कार्यक्रमले पूरा गर्ने विश्वास गिरीले राखेका छन् । घर निर्माणका लागि नाम टिपोट गरेर लगेकोले गौरीगन्ज दमाई बस्तीका स्थानीय सीता दर्जी खुशी छिन् । उनले भनिन्, “दैनिक ज्यालामा काम गर्दै छाक टार्न धौ–धौ पर्ने गर्छ, अब भने हाम्रो घर पनि हुने भयो ।”
बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी सहाराले सञ्चालनमा ल्याएको कार्यक्रम स्थानीय तहका लागि वरदान सावित भएको बताए । उनले भने, “स्थानीय तहले गर्नुपर्ने काम सहकारीले अग्रसर भएर गरेको हुँदा कार्यक्रम सफल बनाउन नगरपालिकाले साथ दिन्छ ।” झापको दक्षिणी क्षेत्रका जनता अझै पनि बाढी र डुवानको उच्च जोखिममा रहेको बताउँदै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह सहाराले दक्षिणी क्षेत्रका विपन्न परिवारका लागि आवास निर्माणको सम्झौता गरेर उल्लेख्य सहयोग गरेकोे बताए । गत वर्ष बाढी पीडितका लागि सहाराले गरेको सहयोग स्मरण गर्दै उनले भने, “गाउँपालिका सहारासँग गरिबी निवारणका लागि जस्तोसुकै सम्झौता गर्न तयार छ ।”
सहाराले ह्यावीट्याट फर ह्युमानिटीसँग साझेदारी गर्दै गत वर्ष एकीकृत बस्ती निर्माण कार्य सुरु गरेको थियो । सो क्रममा विराटनगर महानगरपालिकामा एक सय घर निर्माणको प्रक्रिया अघि बढाएको र झापामा ८३८ वटा घर निर्माण गरेको छ । सहाराले चार करोड रुपैयाँको लागतमा २५०वटा घर निर्माण गर्दै छ । कार्यक्रम प्रदेश –१कै उदाहरणीय भएको बताउँदै प्रदेश –१का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सहारालाई प्रदेश सरकारले भरपुर सहयोग गर्ने बताए । “सहकारी संस्थाहरू पैसा संकलन गर्ने र ऋण दिने गर्छन्, तर सहारा समाज समृद्धिमा अघि बढेको छ सहाराको अभियान हरेक सहकारीले अनुकरण गर्न योग्य छ ।” जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय तहसँग साझेदारी गर्दै गरिएको कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताए ।
ज्येष्ठ नागरिकसँग सहारा
आवास निर्माणसँगै सहकारीले चार करोड रुपैयाँ लागतमा ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने भएको छ । विभिन्न स्थानमा ५० वटा ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने योजना सहाराको छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्यकासाथ चौतारी निर्माण कार्य सुरु गरेको बताइएको छ । गत वर्ष झापाको दूधे, होक्से, घैलाडुब्बा, लक्ष्मीपुर र बाहुनडाँगीमा १-१ वटा ज्येष्ठ चौतारी निर्माण गरिएको सहकारीका कार्यकारी निर्देशक गिरीले जानकारी दिए । उनले भने, “ज्येष्ठ नागरिकलाई एक्लो महशुस हुन नदिन चौतारी निर्माण गरिएको हो, चौतारीलाई साथीभाइसँग भेटघाट गरी अनुभव आदानप्रदान गर्ने थलोको रुपमा विकास गरेर लैजाने हाम्रो लक्ष्य हो ।” सहाराले निर्माण गरेको चौतारीबाट ज्येष्ठ नागरिकलाई इन्टरनेटको व्यवस्था गरिएको गिरीले सुनाए । इन्टनेटको सुविधा प्रत्येक चौतारीमा हुने बताइएको छ ।
मह उद्योग स्थापनामा सहारा
सहाराले कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । प्रदेश स्तरको मौरी मह उद्योग स्थापना गर्ने सोच अघि बढाएको छ । झापाको शिवसताक्षी नगरपालिकामा प्रदेश स्तरीय मह उद्योग स्थापना गर्नेे जानकारी निर्देशक गिरीले दिए । बाख्रा, कुखुरापालन व्यवसायमार्फत आगामी तीन वर्षभित्र १५ हजार किसानलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । माछा र तरकारी खेतीमा किसानलाई आकर्षित गर्दै लैजाने सोच रहेको बताइएको छ । सहकारीले लगानी गरेर स्वच्छ र स्वस्थ मासुका लागि १००वटा फ्रेस हाउस स्थापना गर्ने र ब्राण्डिङ गर्न किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाएको छ । यस व्यवसायका लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लगानी गर्ने बताइएको छ
विपद्मा सहारा बन्दै सहारा
संस्थाले स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाएको छ । विपद् व्यवस्थापन बाढी, पहिरो, आगलागी, खाद्यान्न, लत्ताकपडा र सहयोग स्वरुप एक करोड १० लाख रुपैयाँको सहयोग उपलब्ध गराइसकेकोे छ । संस्थाले गतबर्ष ६० लाख सहयोग उपलब्ध गराई सुरुङ्गामा सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । सहकारीले आफ्ना सदस्यको मृत्युको अवस्थामा उसले लिएको ऋण मिनाहा गर्दै आएको र हालसम्म एक हजार ११४ जनाको ऋण मिनाहा गरेको बताइएको छ । जसमा सात करोड ७६ लाख १२ हजार ३७३ रुपैयाँ ऋण मिनाहा गरेको छ ।
युवा स्वरोजगार कार्यक्रम
युवा स्वरोजगार कार्यक्रमतर्फ सहकारीले कृषि तथा पशुपालनमा ६०० र टेम्पो, पिकअप भेन सञ्चालनका लागि १४०० गरी दुई हजार जनालाई स्वरोजगार बनाएको छ । जसमा ६० करोड रुपैयाँ लगानी गरेको छ । आगामी दिनमा १० हजार युवा स्वरोजगार बनाउने लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइयो । सर्वशुलभ र गुणस्तरीय शिक्षाका लागि सहकारी नमूना मन्टेश्वरी विद्यालय बिर्तामोड नगरपालिकाको चारपानेमा सञ्चालन गर्दै आएको छ । आगामी दिनमा यसलाई थप गर्दै लैजाने बताइएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १ं२ सम्म अध्ययन गरेका विद्यार्थीलाई प्रत्येक स्थानीय तहमा एक-एक सय जनालाई रोजगार प्रदान गरिने बताइएको छ । स्थानीय तहमा करको विषयमा अपडेट रहने गरी तालिम सञ्चालन गर्दै प्रत्येक स्थानीय तहमा एक-एक सय जनालाई रोजगार दिने लक्ष्य रहेको सुनाए ।
स्वास्थ्यमा लगानी
सञ्जीवनी कार्यक्रमतर्फ सहकारीले उच्च रक्तचाप, मधुमेहका रोगीका लागि औषधिमा ५० प्रतिशत सुविधा उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि थाइराइड, मुटु लगायत १० वटा जटिल रोगको औषधिमा सहयोग पु-याउने लक्ष्य राखेको बताइएको छ । सहाराले आफ्ना डेढलाख बढी सदस्यको जोखिम र खतराजन्य सबैजसो रोगको उपचार निःशुल्क गर्न सुरु गरेको छ । मृत्यू पछि पनि किरिया खर्च उपलव्ध गराइ रहेको सहारा नेपालकै उदारणीय र अनुकरणीय संस्था बनेको सदस्यको भनाइ छ । त्यस्तै स्थानीय संघ–संस्थासँग सहकार्य गर्दै चालू आर्थिक बर्षमा २० वटा एम्बुलेन्स वितरण गर्ने बताइएको छ । महिलाका लागि प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने र आङ खस्ने महिलाका लागि विशेष कार्यक्रम मार्फत स्वास्थ्य उपचार गराउने बताइएको छ । किशोरीहरूलाई आत्मविश्वास र आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । झापाका स्थानीय तहबीच स्थानीय स्तरमा फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको कार्यकारी निर्देशक गिरीले बताए ।
सडक सुरक्षामा सहारा
प्रदेश –१ को यायायात व्यवस्थापनका लागि सहाराले सडक सुशासन र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उपस्थिति देखाउने योजना पनि बनाएको बताएको छ । सहाराले प्रदेशका ठुला सहरहरूमा ट्राफिक बत्ती जडान गर्नेदेखि दुर्घटना घटाउन भूमिका निर्वाह गर्नेसम्मको कार्यक्रम अघि सारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय झापालाई ६० लाख बराबरको सामाग्री उपलब्ध गराएको छ ।
थप सामाजिक कार्यको घोषण
झापाका स्थानीय तहसँगको सहकार्यमा संस्थाले १९ वटा सामाजिक काम गर्ने घोषणा गरेको छ । जसको माध्यमबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाइरहेको समयमा सहाराले त्यसको समाधानका लागि भूमिका निर्वाह गर्ने घोषणा गरेको छ । ‘विपद्को सहारा’ नारासहित विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहाराले कार्यक्रम अघि सारेको छ । सरसफाइ तथा अर्गयानिक तरकारी उत्पादनमा सहभागी हुने बताएको छ । पशु बधशाला स्थललाई आधुनिक र व्यवस्थित बनाउन अनुदान दिने योजना सहाराको रहेको छ । सहाराले १ लाख र स्थानीय तहले दुई लाख प्रदान गरेर पशु बधशालालाई व्यवस्थित बनाउन सहमति गरेको छ । सिँचाइको सुविधा रहेको शिवसताक्षी नगरपालिकालाई धान सुपरजोन अन्तर्गत विभिन्न अनुदानका कार्यक्रम ल्याउने बताइएको छ । सहारा नेपालले यसअघि पनि झापाका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।
प्रदेश –१का ६ जिल्लामा ६० वटा सेवा केन्द्र रहेको सहकारीमा एक लाख ३५ हजार ६ सय ७७ जना शेयर सदस्य रहेका छन् । आगामी दिनमा संस्थाले प्रदेशभरिका सबै जिल्लामा ५ लाख शेयर सदस्य पु-याउने लक्ष्य लिएको छ । आठ करोड १४ लाख २५ हजार ९५८ रुपैयाँ कर बुझाएको सहकारी मुलुककै सबैभन्दा बढी कर बुझाउने सहकारीको रुपमा चिनिएको छ । सहकारीको शेयर पुँजी ८८ करोड ८९ लाख २४ हजार ४०० रुपैयाँ रहेको र बचत तीन अर्ब ५८ करोड ९८ लाख २९ हजार ८२१ रुपैयाँ रहेको छ । सहकारीको बाह्य ऋण एक अर्ब ६४ करोड ८९ लाख ८१ हजार ८४९ रुपैयाँ रहेको र कोषहरूमा ८४ करोड ६५ लाख तीन हजार ४७८ रुपैयाँ रहेको र लगानी ५ अर्ब ७३ करोड २० लाख ९७ हजार ९०० रहेको बताइएको छ । सहकारीको कूल सम्पत्ति तथा दायित्व ७ अर्ब २३ करोड ७८ लाख ४५ हजार ७०६ रुपैयाँ रहेको छ ।
नेपालको सवैभन्दा धेरै सदस्य संख्या रहेको झापा बिर्तामोड नगरपालिका २ चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड २१ वर्ष अघि स्थापना भएको थियो । संस्थामा १ लाख ३६ हजार १ सय ४७ सदस्य रहेका छन् । वेसाहाराको सहारा बन्दै गएको यस संस्थाले नेपालका सवै सहकारी संस्थाले गरेको सवै काम र समाजिक कार्य त गरेको छ । प्रदेशका विभिन्न ६ वटा जिल्लामा कार्यक्षेत्र बनाएको सहाराले अब प्रदेशभरि कार्यक्षेत्र विस्तार गर्ने बताएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरमा सहारा नेपालको सेवा केन्द्र स्थापना भएको छ ।