कारोबार संवाददाता
मंगलबार, भदौ २६, २०७५
674

सरकारले आर्थिक वर्ष ०७५–७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेकोले बाँकेका सयौं बचतकर्ताले निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने निर्णय गरिएको हुँदा स्थानीय बचतकर्ताहरुले सो निर्णय फिर्ता लिन सरकारलाई दवाव दिएका छन् । अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्ने प्रावधान रहेकोले सरकारको सो निर्णयले आफुहरुलाई निराश बनाएको हुलाक बैंकका बचतकर्ता सहदेव शर्माले बताए । उनले सो निर्णय तत्काल फिर्ता लिनु पर्ने माग गरे ।

आयकर तिर्नु नपर्ने, सहजैरुपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताहरुको हुलाक बचत बैंकप्रति अकर्षण बढेको जनाउँदै उनले यो बैंकलाई झन सबैका लागि सहज बनाउनु पर्ने बताए ।
एक सय रुपैयाँमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले हुलाक बचत बैंकमा पैसा जम्मा गरिरहेको जनाउँदै डुडुवा गाउँपालिका–२ का शर्माले बैंक बन्द गर्ने निर्णय उचित नरहेको बताए ।
कारोबार गर्न सहज भएकै कारण निम्न आयस्तर भएका बाँकेबासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको बचतकर्ताको भनाई छ ।
सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरी रिक्सा चलाएर कमाएको रकम हुलाक बैंकमा जम्मा गर्दै आएको रिक्सा चालक प्रेम गुप्ताले बताएका छन् । उनले अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो रहेकोले यो बैंकलाई बन्द गर्न नहुने तर्क गरे ।
बाँकेमा हुलाक बचत बैंक सुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका निम्न आय भएका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकका रुपमा हुलाक बचत बैंक स्थापित भएको छ ।
अर्का बचतकर्ता नेपालगन्ज–११ का राजन वैश्यले सरकारले यो बैंक खारेज नगर्नु पर्ने जनाउँदै यहाँ आफुहरुले सहज रुपमा सेवा पाइरहेको बताएका छन् ।
हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा ६ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा ७ प्रतिशत बार्षिक ब्याज पाइन्छ ।
हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बैंक बन्द नगर्न दवाव दिन दिनदिनै सयौं सेवाग्राही कार्यालयमा आउने गरेको बताएका छन् ।
चिठठ्ीपत्र लगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारीहरु पनि बचतकै काममा बढी केन्द्रीत हुनुपरेको प्रमुख गडरियाले जनाए । हिजोआज चिठी पत्र आउन जान बन्द प्राय भएकोले कर्मचारीले हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको उनले बताए ।
प्रमुख गडरियाका अनुसार बाँकेमा २ हजार ८० खातामध्ये १ हजार ७७५ वटा खाता सञ्चालनमा रहेका छन् । बचतकर्ताहरु मध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिकहरु बढी रहेका छन् । बचत बैंकमा हाल ९ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ ।