कारोबार संवाददाता
बुधवार, श्रावण १४, २०७७
317

इलाम-सवारी नियम मिच्ने साधनलाई कारबाही स्वरुप संकलन हुने राजस्व यसवर्ष कम भएको छ । कोरोना र लकडाउनका कारण यस वर्ष राजस्व संकलनमा कमी भएको हो ।
आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाही स्वरुप ४९ लाख ९९ हजार राजस्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैतदेखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामका प्रमुख दिलीपकुमार चौधरीले बताए ।

सवारी धनीपुर्जा नभएका, सवारी चालक अनुमतिपत्र नभएका, मापसे गरी सवारी चलाउने लगायतलाई कारबाही गरिएको हो । कार्यालयको तथ्यांकअनुसार यसवर्ष १८६ वटा बसबाट १ लाख ७ हजार ५ सय, १२ सय १८ ट्रकबाट ७ ला ३८ हजार ३४ सय ८७, जिप कार र भेनबाट १८ लाख २६ हजार साथै ३२ सय ८६ वटा मोटर साइकलबाट २० लाख १९ ५ सय राजस्व संकलन भएको छ । त्यस्तै ४ सय ५५ वटा ट्याक्टरबाट २ लाख ४७ हजार र अन्य ८३ वटा सवारी साधनबाट ६१ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय इलामका ट्राफिक हवल्दार राजन थापाले जानकारी दिए ।
अघिल्लो अर्थात आर्थिक वर्ष ०७५।०७६ मा ४ सय ४० बसबाट २ लाख ८४ हजार, १९ सय ४ वटा ट्रकबाट ११ लाख ८९ लाख ५ सय राजश्व संकलन भएको कार्यालको तथ्यांकमा उल्ल्ेख छ । त्यस्तै ५ हजार ४ सय ९५ जि, कार र भेनबाट २९ लाख २१ हजार ५ सय, ५ हजार १ सय २२ मोटरसाइकलबाट ३२ लाख ५६ हजार र ६ सय ४९ ट्याक्टरबाट ३ लाख ६३ हजार ५ सय गरि ८० लाख १४ हजार ५ सय राजस्व संकलन भएको थियो ।
लकडाउनका कारण सडकमा कम सवारी चले पनि दुर्घटना भने अघिल्लो वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष ०७५।०७६ मा साना ठुला गरि २० वटा सवारी दुर्घटना भएका थिए । जसका कारण ९ जनाले अकालमा नै ज्यान गुमाउनु परेको थियो । दुर्घटनाबाट १० जना सक्त घाइते भएका थिए भने ३४ जना सामान्य घाइते भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आव ०७६।७७ मा साना ठुला गरि २१ वटा सवारी दुर्घटनामा परेका छन् । जसका कारण ९ जनाले नै ज्यान गुमाएका छन् ९ जना सक्त घाइते भएका छन् । त्यस्तै दुर्घटनाबाट ९ जना नै सामान्य घाइते भएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ ।
कार्यालयले दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेत गराउने, होर्डिङ बोर्ड राख्ने लगायतका कार्य गरिरहेको प्रमुख चौरीले बताए । बर्सेनि सवारी बढिरहे पनि सडकको क्षमता नबढ्दा दुर्घटना बढ्ने गरेको छ ।