कारोबार संवाददाता
मंगलबार, श्रावण १३, २०७७
406

साउन ८ बाट सार्वजनिक सवारी सञ्चालनमा ल्याएका नेपाल यातायात व्यवसायी महासंघ र मजदुर संगठनले सरकारले छोटो तथा लामो दूरीमा यातायात सुचारु गर्न माग गरेको छ । सोमबार महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लामो तथा छोटो दूरीमा सवारी सञ्चालन गर्न सहजीकरण गर्नु पर्ने माग गरेका छन् । व्यवसायीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यात्रुहरूले दुःख पाएकाले छोटो तथा लामो दूरीमा तत्काल सवारी सञ्चालन गर्न दिनु पर्ने माग गरेका छन् ।” भदौ १ देखि लामो तथा छोटो दूरीमा सवारी सञ्चालनका लागि साउन ६ गते बसेको मन्त्रिपरिषदले निर्णय गरेको भएपनि तत्काल लामो तथा छोटो दूरीमा सवारी सञ्चालन गर्न पाउनु पर्ने महासंघले माग गरेको हो ।
सरकारले असार २६ बाट छोटो दूरीमा जिल्ला भित्रमात्र प्रचलित भाडा दरमा थप ५० प्रतिशत थप भाडा लिएर कुल सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु स्वास्थ्य सुरक्षा अपनाएर सवार गर्न पाउने निर्णय गरेको थियो । तर, महासंघले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै सवारी नचलाउने जनाउँदै साउन ८ बाट मात्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएको थियो । सरकारको अव्यवहारिक निर्णयले लाखौं जनताको दैनिक जवजीवनमा गम्भिर असर परेको र उक्त निर्णय तत्काल सच्याएर सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रूटमा सार्वजनिक सवारी साधन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा समेत सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउन महासंगले विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरेको छ ।
कोरोना भाइरस सवारी साधनबाट नभइ मानिसबाट संक्रमण हुने भएकाले सार्वजनिक सवारी साधनलाई जिल्लामा गरेर मानिसलाई पैदल आवतजावत गर्न दिनुले कोरोना रोकथाम नहुने जिकिर संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । सरकारले सार्वजनिक सवारीलाई जिल्लामा सीमित गर्दा निजी सवारीले चर्को भाडा लिएर यात्रु सवार गरिरहेको महासंघको दावी छ ।