कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
465

इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बिमा गरिदिने व्यवस्था ल्याएको छ । पछिल्लो दिनमा देशभर निरन्तर बढीरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकको कोरोना बिमा गर्ने व्यवस्था गरेको छ ।
यो योजनाअन्तरगत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आवद्ध हुने प्रतिवद्धता गर्नुपर्ने कम्पनीले जनाएको छ । यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउने कम्पनीले जनायो ।

यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनका लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुने भन्दै कम्पनीले ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पु-याउने हो सजिलै दर्ता गर्न सकिने पनि बतायो ।
यसबाट चालक तथा यात्रु दुवैै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।
यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथै आवश्यक विवरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ । “अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने हाम्रो उद्धेश्य छ ।” इजी ट्याक्सी नेपालकाका अध्यक्ष सञ्जित पौडेलले भने, “देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेकाले यसलाई सहज बनाउन बिमा गर्ने योजना ल्याएका छौं ।”