दीननाथ बराल
आइतवार, असार २८, २०७७
991

पोखरा-सरकारले छोटो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसंँगै पोखरासहित कास्कीमा केही सवारी साधन सञ्चालन हुने भएका छन् भने केही अन्योलमा परेका छन् । पोखरामा भोलि (शुक्रबार) देखि संस्थागत रूपमा सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नहुने भएका छन् भने शनिबारदेखि केही सवारी साधनहरू सञ्चालन हुने भएका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले समेत तत्काल कुनै निर्णय नगरेको, सम्बन्धित यातायात व्यवसायी कम्पनीहरूले पनि हाल कुनै निर्णय लिन नसकेको कारण शुक्रबारदेखि संस्थागत ढंगबाट सार्वजनिक यातायातका धेरै सवारी साधनहरू सञ्चालन नहुने देखिएको छ । शनिबारदेखि भने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आफ्ना छोटो दूरीका सवारी साधनहरू सञ्चालन गर्ने तयारी गरिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । उनले भने, “सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा गरेको निर्णयको हामीले स्वागत गरेका छौं तर यसमा बैंक तथा वित्तीय संस्थाबाट ऋणमा सञ्चालन भएका सवारी साधनहरूको बिषयमा सरकारले सम्वोधन गर्नुपर्छ ।” आफ्नो व्यवसायसँगै व्यवसायमा आबद्ध भएका मजदुरहरूको रोजीरोटीको समेत कुरा आएकाले गर्दा हाल सरकारले भनेअनुसार सामाजिक दूरी कायम गरी स्वास्थ्य सामग्रीको प्रयोग गर्न आफूहरू तयार रहेको उनले जनाए । उनले भने, “अब हामीले लामो दूरीका सवारी साधनहरू पनि सञ्चालन गर्नुपर्छ भनेर सरकारसँग आव्हान गर्छाैं, अन्यथा हाम्रा मजदुरलाई राज्यले राहत उपलब्ध गराउनुप-यो ।” कम्पनीले ४ वटा बैंकलाई ९० वटा गाडीको चाबीसमेत हस्तान्तरण गरी बैंक तथा वित्तीय संस्थाकाा सावा तथा ब्याज ६ महिनापछि पु-याउन माग गर्दै आएका छन् ।

पोखरा बस सञ्चालक कम्पनीका सचिव अमृत तिमिल्सिनाले सरकारको यति मात्रको निर्णयले आफूहरूले सार्वजनिक बस सेवा सञ्चालन गर्न नसक्ने बताए । उनले भने, “भाडा दर ५० प्रतिशत वृद्धि गरेर मात्र हुँदैन, एक दिन एउटा बस सञ्चालन गर्दा करिब २ हजार देखि ५ सय खर्च आउँछ त्यसलाई हामीले कसरी व्यवस्थापन गर्न सक्छौं, त्यसमा पनि सेनिटाइजर, गाडीको डिसइन्फेक्सन कसले गर्ने यसमा राज्यको केही सहयोग आवश्यक पर्छ ।” चैत ११ देखि लक भएका यात्रु बाहक माइक्रोबसहरू केही मर्मत गरेर मात्र सञ्चालन गर्नुपर्ने अधिकांश बैंकको त्रासले सञ्चालन गर्ने नगर्र्ने डर भएको उनले गुनासो गरे । राज्यले कोरोना भाइरसको सुरक्षा विधिमा आवश्यक सामग्रीको उपलब्ध गराउनु पर्ने सचिव तिमिल्सिनाको छ ।
यसैबीच पोखराका ट्याक्सीहरू अहिलेको अबस्थामा सञ्चालन नहुने भएको पोखरा ट्याक्सी व्यवसायी कम्पनीका अध्यक्ष प्रकाशमणि तिवारीले बताए । उनले भने, “ट्याक्सीको विषयमा सामाजिक दूरी कायम गरेर सञ्चालन गर्नु भनेर निर्देशन आएसँगै भाडासमेत समायोजन हुनुपर्ने हो तर भाडाको विषयमा सरकारले केही कुरा उल्लेख नगरेकाले गर्दा हामीले अहिलेको अवस्थामा ट्याक्सी संचालन गर्न सक्दैनौं ।” अधिकांश ट्याक्सीहरू पनि बैंक तथा विक्तिय संस्थाको ऋणबाट संचालन भएकोले संचालन पछि बैंकहरूले ट्याक्सी तान्ने त्राससमेत भएको उनले जनाए । ट्याक्सी सञ्चालन गर्ने सरकारको निर्णय प्रतिघोर आपत्ति जनाउँदै अध्यक्ष तिवारीले ट्याक्सी व्यवसायीहरूको मागअनुसार भाडा समायोजन, बैंक तथा वित्तीय संस्थालाई कम्तिमा ६ महिना पछि सावा व्याज दिने व्याबस्था प्याकेजमा सम्बोधन गर्नुपर्ने अध्यक्ष तिवारीले माग गरेका छन् । कास्कीमा करिब २ हजार ५ सय ट्याक्सी, विभिन्न कम्पनीसँग आबद्ध भएका करिब ९ सय यात्रुबाहक बस तथा माइक्रोबस रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीमा कुन ढंगले सवारी साधनहरू सञ्चालन गर्ने यस विषयमा आधिकारिक निणर्य भने शुक्रबार गर्ने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । सरोकारवाला निकायसंग समन्वय गरी कास्कीमा सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्ने विषयमा निर्णय गर्ने भएको उनले जनाए ।