दीपेन्द्र थापा
शुक्रवार, असार २६, २०७७
936

सरकारले छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सार्वजनिक सवारीमा लगाएको १०८ दिनसम्मको प्रतिबन्ध खुला गर्दै सरकारले तत्कालका लागि छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने गरी अनुमति दिएको हो । चैत ११ गतदेखि लकडाउन लगाइए पनि त्यसको अघिल्लो दिनदेखि नै सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि, निजी सवारीका लागि भने सरकारले असार १ गतेदेखि जोर बिजोर प्रणाली लागू गरेर सञ्चालन गर्न दिएको थियो ।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्रका हकमा तीनवटै जिल्लामा र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक यात्रुवाहक सवारी सञ्चालन गर्न पाउने गरी निर्णय भएको बताए । उनले भने, “उपत्यकाभित्र र जिल्लामा जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने गरि यात्रुवाहक सवारीसाधन सञ्चालनमा खुला गरिएको छ भने अन्तरजिल्ला र लामो दूरीका यात्रुवाहक सवारीसाधनममा भने प्रतिबन्ध कायमै रहेको छ ।”
चालकसहित सिट क्षमताको ५० प्रतिशत मात्र हुने गरि एक पंक्तिको १ सिटमा सामाजिक दूरी कायम हुने गरी एक जनामात्र राख्न पाइने छ भने सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, सवारीमा सेनिटाइजरको व्यावस्था गर्ने तथा चालक र सह–चालकले समेत अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका सामग्री अवलम्बन गर्नुपर्ने । सवारीसाधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने शर्तमा सञ्चालन गर्न दिन सरकारले निर्णय गरेको मन्त्री खतिवडाले बताए । यो व्यवस्था लागू रहुञ्जेल सार्वजनिक सवारीमा तोकिएको भाडादरमा ५० प्रतिशत थप भाडा लिन पाउने पनि सरकारले निर्णय गरेको छ ।
सरकारले सिट क्षमताभन्दा ५० प्रतिशतसम्म यात्रु सवार गर्न पाउने भएपछि सरकारले सञ्चालन खर्चलाई पनि ध्यानमा राखेर कोभिड–१९ सम्बन्धी आदेश रहुन्जेल प्रचलित भाडामा थप ५० प्रतिशतसम्म भाडा लिन पाउने व्यवस्था गरेको छ । असार २३ बसेको मन्त्रिपरिषद् बैठकले परिपूरक निर्णय गरेको मन्त्री खतिवडाले बताए । उद्योग प्रतिष्ठान तथा निजी कार्यालयमा कर्मचारी ओसारपसार गर्ने प्रयोजनको लागि प्रयोग गर्न सवारी साधन सिटको एक लहरमा एक जनामा मात्र यात्रु राख्न पाउने गरी आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, सरकारले चारपाङ्ग्रे निजी सवारीको हकमा चालक वाहेका थप २ जना र एकै परिवारको भए ५ वर्षमुनिका १ काखे बच्चालाई लिएर सवार गर्न पाउने जनाएको छ । साथै, दुई पाङग्रे सवारीमा पनि सोही नियम लागू हुने जनाएको छ ।

ट्याक्सी पनि सञ्चालन गर्न पाइने
सरकारले काठमाडौं उपत्यका र जिल्ला भित्र ट्याक्सीमा भने चालकवाहेकका थप २ जना राख्न पाउने गरी सञ्चालन दिने निर्णय गरेको छ । प्रचलित भाडा दरभन्दा बढी भाडा भने लिन नपाउने निर्णय सरकारले गरेको मन्त्री खतिवडाले बताए । ट्याक्सीमा पनि चालक र यात्रु दुवैलाई मास्क र स्यानिटाइजरलाई स्वास्थ्य सुरक्षाका विधी अनिवार्य गरिएको छ । एउटै परिवारका ५ वर्षभन्दा मुनिका बच्च पनि सवार गर्न पाउने छन् ।

व्यवसायी र उपभोक्ताकर्मीको मिश्रित प्रतिक्रिया
सरकारको निर्णयप्रति सरोकारवालाले मिश्रित प्रतिक्रिया जनाएका छन् । “२५ प्रतिशत थप भाडादर कायम गर्दा हुने हो तर स्वास्थ्य निर्देशन प्रभावकारी पालना हुन्छ भने ५० प्रतिशतसम्म पनि ठिकै छ,” उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव विष्णु तिमल्सिना भन्छन्, “हामीले गरेको प्रारम्भिक अध्ययन अनुसार यो बाँचौ र बचाउ भन्ने समयमा २५ प्रतिशत सम्म थप भाडा लिनु ठिकै हो । ५० प्रतिशत थप दिनु भनेको उपभोक्ता अधिकारकर्मीको क्षत्रबाट हेर्दा धेरै नै हो । यदि यात्रुवाहक सवारी व्यावसायीले सरकारले जारी गरेको निर्देशन कडाईका साथ प्रभावकारी कार्यान्वयनन गर्छ भने त्यो पनि ठिकै हो ।”
राष्ट्रिय यातायात व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भने अहिलेकै अवस्थामा हामीले सवारीसाधन सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै शुक्रबार वैठकपछि निर्णय सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनी भन्छन्, “सरकारले एकपक्षीय ढंगबाट हामीलाई जाकारी नगराई निर्णय गरेको छ । महासंघको धारणा शुक्रवार १ बजे बैठक बसेर निर्णय गर्ने छौं । सरकारले गरेको निर्णय अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने अवस्था भने छैन ।” स्वाँरका अनुसार सरकारसँग पटक पटक छलफल गरेको भएपनि सरकारले लोकतान्त्रीक पद्धतीको अवमूल्यन गरी एकपक्षीय निर्णय गरेको छ ।सार्वजनिक सावरी न्यूनतम आवश्यकता पुरा गरेरमात्र सञ्चालन गर्न सक्ने अवस्था पटकपटक जानकारी गराएको भएपनि त्यसलाई इन्कार गरेर सरकारले एकलौटी निर्णय गरेको छ ।