कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
698

यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आइतबारदेखि आवेदन खुल्ला गराएको छ । विभागले बागमती अञ्चल र हाल बागमती प्रदेशका सवारीसाधनमा प्रदेश नम्बर राखेर इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन खुल्ला गरेको हो । विभागले आवेदन भर्ने अन्तिम म्याद नतोकी आवेदन खुलाउने भएको हो ।
इम्बोस्ड् नम्बर प्लेटका लागि निवेदन बुझाउन सवारी शुल्क र ब्लु बुक शुल्क तिरेको हुनुपर्छ । आवेदकले आफ्नो सवारीसाधन अनुसार इम्बोस्ड् नम्बर प्लेटको शुल्क पनि आवेदन भर्नु पहिले तिर्नुपर्ने विभागले जनाएको छ । विभागको अनुसार आइतबारबाट बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था विभागको कार्यलयमा दर्ता भएका सबै दुई पांग्रे तीन पांग्रे र चारपांग्रे साना ठूला सवारीसाधनका लागि आवेदन खुलाउन लागिएको हो । इम्बोस्ड नम्बर प्लेट जडान कार्य आगामी आर्थिक वर्षको परिहलो महिना अर्थात साउन एक गतेबाट सुरु हुने छ ।
इम्बोस्ड नम्बर प्लेटमा नेपालीको सट्टा अंग्रेजी अक्षर प्रयोग गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । तर, सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट खारेज गरिदिएको छ । सर्वोच्चको यो आदेशसँग २ वर्ष भन्दा धेरै समयदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको थियो । विभागले यसअघि नै जडान कार्य सुरु गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण गरिएको लकडाउनले केही ढिलो भएको हो । हलसम्म करिब ६ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसेको विभागले जनाएको छ ।