कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
471

नेपालको ढुवानी व्यावसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ । ई–ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिस’ को सेवा दिँदै आएको छ ।
बेलायतमा आइटी व्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक वर्ष अगाडि मोबाइल एपमार्फत नेपालभर ढुवानी यातायात व्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई–ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन् ।

पहिलो एक वर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई–ट्रान्सपोर्टेसनमा आवद्ध भएका छन् । त्यस्तै मुख्य राजमार्गका १७३ ग्यारेज आवद्ध भएका छन्, जसले समस्यामा परेका सवारीलाई मर्मतको सुविधा दिँदै आएका छन् ।
मण्डल भन्छन्, “ई–ट्रान्सपोर्टेसन सर्भिस् डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई छिटो र व्यवस्थित कामका लागि सजिलो बनाउँछ । भेइकल ब्रेकडाउन सर्भिसअन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिक पठाएर सेवा प्रदान गर्छ ।”
सवारी धनी र चालकले मोबाइलमा नेपाल इटिएस टाइप गरी ई–ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरी सेवा लिन सक्छन् । सेवा लिन निश्चित वार्षिक शुल्क तिर्नु पर्ने हुन्छ । राजमार्गमा समस्यामा परेकालाई कम शुल्कमा सेवा दिन सफल भएको मण्डलको दावी छ ।
बेलायतमा बसेर काम गरिरहँदा नेपालका लागि केही गरौं भन्ने लामो हुटहुटीले यो व्यवसाय जन्मेको मण्डलको भनाइ छ । बेलायतमा सिकेको सीप नेपालमा सदुपयोग गर्न पाएकोमा मण्डलले खुशी व्यक्त गरे ।
नेपाल ट्रक यातायात व्वसायी महासंघ लगायत विभिन्न व्यावसायी समिति र संघले समन्वय गरी ढुवानी यातायात व्यवसायलाई स्मार्ट बनाउने अभियानमा सहयोग गरेको मण्डलले जानकारी दिए ।