कारोबार संवाददाता
शनिवार, असार १३, २०७७
1443

चालकको लापरवाहिले हुने दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवस्था विभागले प्रविधिमा आधारीत सवारीसाधन ट्रयाकिंग प्रणालीको विकास गर्ने भएको छ ।
विभागले विश्व बैंकसँगको सहकार्यमा आगामी आर्थिक बर्षदखि जीपीएस भेकल ट्रयाकिंग सिस्टम सुरु गर्ने तयारी रहेको सो प्रणाली पहिलो चरणमा सार्वजनिक यातायातमा जडान गरिने विभागले जनाएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले उक्त प्रणाली स्थापन गर्नका लागि परामर्शदाता छनौटको प्रकिया अगाडी बढाएको जनकारी दिए ।

उनले सवारी साधनमा जीपीएस प्रणाली जडान भएपछि सवारी साधनको हरेक गतिविधिको निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै सार्वजनिक यातायातमा हुने आपराधिक घटना नियन्त्रण गर्न समेत सहयोग पुग्ने पनि उनले बताए ।
विभागका महानिर्देशक हमालले अबको दुई महिनामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य पुनः सुरु गर्ने पनि बताउँदै इम्बोस्ड नम्बर प्लेटमा नेपालीको सट्टा अंग्रेजी अक्षर प्रयोग गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेकोले ढिला भएको बताए ।
तर, सर्वोच्चले इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट खारेज गरिदिएको छ । सर्वोच्चको आदेशसँगै झन्डै २ वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउने बाटो खुलेको थियो ।
विभागले यसअघि नै इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण गरिएको लकडाउनले केही ढिलो भएको हो । हमालले अहिले पूर्वाधार लगायका सबै प्रकिया अन्तिम चरणमा पुगेको जानकारी दिदैं पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन वटा कार्यलयबाट सुरु गर्ने तयारी गरेको जानकारी दिए । हालसम्म करिब ६ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइ सेकेको समेत उनले बताए ।
यस्तै, हमालले सार्वजनिक नीजि साझेदारीमा यातायात व्यवस्थापनको अन्य प्रयासहरु भइरहेको पनि बताए । उनले सवारी परिक्षण केन्द्र, राजमार्गाहरुमा विश्राम स्थल र काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सवारीसाधनको वासिंङ सेन्टर स्थापना गरी संचालन गर्न गृहकाय भइरहेको पनि बताए ।