कारोबार संवाददाता
सोमवार, जेठ १९, २०७७
752

सरकारले बजेट मार्फत विद्युतीय सवारीमा भन्सारको दर बढाएको भन्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सारका दरमा हेरफेर गर्न माग गरेको छ ।
आइतबार नाडाले पत्रकार सम्मेलन गरेर सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा भन्सार कर बढाएको भन्दै ध्यानकर्षण भएको जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले आफनै पूर्व घोषणालाई बेवास्ता गर्दै विद्युतीय सवारी साधनहरुमा पनि डिजेल र पेट्रोलका सवारीमा उच्च महशुल दर लगाएको कारण आम मानिसले विद्युतीय सवारी साधनहरु खरिद गर्न नै नसक्ने अवस्था उत्पन्न भएको बताए । उनले भने, “विद्युतीय सवारी साधनहरुको प्रयोगलाई सरकारले फेरि निरुत्साहित गर्न खोजेको हो की भन्ने आशंका उब्जिएको छ, कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीको लगानी समेत डुब्ने खतरा रहेको छ ।”
सरकारको यस्तो दोहोरो र अनिश्चित मापदण्डबाट व्यवसायीको ठूलो लगानी डुब्ने अवस्था आएको भन्दै नाडाले निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नाडाले भनेको छ, “देशभित्र उत्पादित विद्युत्को उपयोग गर्न र व्यापार घाटा कम गर्न पनि सरकारले विद्यतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै कर वृद्धि गर्न हुँदैन ।” नयाँ आर्थिक ऐन–२०७७ ले डिलरबाहेकका कम्पनीले पनि सवारी साधन आयात गर्न पाउने नीतिको पनि विरोध गरेको छ ।