कारोबार संवाददाता
मंगलबार, चैत्र ४, २०७६
1132

काठमाडौं उपत्यकाका दुई ठूला सडक खण्ड कोटेश्वर–कलंकी र जडिबुटी–सूर्यविनायकमा लेन प्रयोगको नयाँ नियम लागू भएको छ । यी दुई सडक खण्डमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नयाँ नियम लगाएको हो ।
नयाँ नियम यात्रुवाहक, मालवाहक तथा निजी सबै खाले सवारीसाधनमा लागू भएको छ । लेनको नयाँ नियमअनुसार कम गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेन र निजी तथा साना सवारीसाधन दाहिने अर्थात् द्रुत लेनबाट मात्र चलाउन पाइनेछ ।

नयाँ नियमको उद्घाटन गर्न काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकाल कोटेश्वर पुगेका थिए ।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले उक्त कार्य व्यवहारिक र रचनात्मक भएको भन्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा हास्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू पनि उपस्थित थिए । ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो ।
सचेतनाको लागि प्ले कार्ड सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीले जानकारीसमेत प्रदान गर्ने गरेका छन् ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले सडक सुरक्षा र त्यसको प्रयोगका सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाइका साथ पालनाका लागि पर्याप्त ट्राफिक प्रहरीहरू खटाइएको बताए ।
केही समयपछि नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्नेछ ।
देशकै पहिलो ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८० को हाराहारीमा सडक दुर्घटना हुन थालेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाइका साथ लागू गरेको हो । सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको प्रहरीको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको कोटेश्वर–कलंकी यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरु जेब्राक्रस रेखा, डिभाइडर आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा भने जोखिम बढेको छ ।
सूर्यविनायक–जडीबुटी सडक खण्डमा भने फागुन १४ देखि नयाँ नियम लागु भएको छ । उक्त सडक खण्डमा पनि कलंकी–कोटेश्वर खण्डकै नियम लागू भएको हो ।
उपत्यकाको सवारी आवागमनलाई थप सहज बनाउने र दुर्घटना न्यूनीकरणका लागि यो नयाँ नियम प्रभावकारी हुने प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बनेको समितिको सुझावका आधारमा नयाँ नियम लागु भएको थियो ।

नियम उल्लंघन गर्नेलाई नमस्कार
ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि नमस्कार अभियान सुरु गरेको छ । “ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिट्ठी फुकेर लखेट्ने ट्राफिकलाई प्रहरी अब भिन्न भूमिकामा देख्न पाइन्छ,” ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सडकमा तैनाथ ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्छन् । त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्छन् । नभए सम्झाइ बुझाइ गर्छन् । र, ट्राफिक नियम पालनामा सतर्क रही प्रवृत्तिको विकास गर्न सुझाउँछन् ।”
आत्मीयता र सम्मान प्रकट गर्नका लागि नमस्कारको सुरुवात गरेको उनले बताए । “गल्ती गर्नेले पनि रियलाइज गरोस्, अब गल्ती हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौं,” महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले भने ।