कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
742

बारा- ट्रकहरूको मुलुकमै दोस्रो ठूलो तराई यातायात व्यवसायी संघ सिमरा बाराको तीन वर्षे नयाँ कार्यकालको अध्यक्षमा शंकरकुमार बिष्ट निर्वाचित भएका छन् ।
संघको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनमा बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । शंकरकुमार बिष्टले ६२८ मत ल्याएका छन् । मतपरिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार जगननाथप्रसाद कलवारले ५ सय ४५ मत ल्याएका हुन् ।

३ बर्षे कार्यकालका लागि हिजो भएको मतदानमा १ हजार १ सय ९६ मत खसेको थियो । बिष्टले कल्वारलाई ८३ मत अन्तरले पराजित गरेका छन् । योसँगै वरिष्ठ उपाध्यक्ष बाहेक बिष्टको प्यानल नै विजयी भएको छ । निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हरि अधिकारी, दक्षिणतर्फको उपाध्यक्ष सुहैल अख्तर अंसारी, उत्तरतर्फको उपाध्यक्ष बोधराज आचार्य, पूर्वतर्फको उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी, महासचिव, जीवनकुमार श्रेष्ठ, सचिव देवकुमार श्रेष्ठ, लोकराज पौडेल कोषाध्यक्ष नारायणप्रसाद घिमिर, सह–कोषाध्यक्ष युवराज न्यौपाने, दिलुमाया श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, मदनराज कंसाकार, मनोज यादव, नविन थापा, रामबहादुर कार्की, सुदीप रिमाल, तुफान फारुक अन्सारी, उमकेश्वरप्रसाद रौनियार विजयी भएका छन् ।
नयाँ कार्यसमितिका लागि दुइटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षका उम्मेदवार शंकरकुमार बिष्ट र जगननाथप्रसाद कलवार छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । मत परिणमपछि पराजीत कलबारले संघले आफ्नो सहयोग र आवश्यकता खोजेको बखत पूर्णरूपले लागी पर्ने बताए । निर्वाचित शंकरकुमार बिष्टले यातायातमा सरकारको दृष्टि परिर्बतन गर्न र व्यवसायीको हक हितका लागि समर्पित रहने बाचा गरे ।
बाराको सिमरामा मुख्यालय रहेको तराई यातायात व्यवसायी संघको नेतृत्वमा राज्यको नीति नियम र आर्थिक अवस्थाका कारण यातायात व्यवसाय संकटमा परिरहेका बेला यो निर्बाचन अर्थपूर्ण मानिएको थियो । देशभरका दुई हजार बढी यातायात व्यवसायीहरूको उपस्थितिमा संघको ५ औं अधिवेशनले बिष्टको नेतृत्व पाएको हो ।