कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६
633

सरकारले विद्युतीय सवारीमा भन्सार छुटको व्यवस्था गरेसँगै आयात बढेर गएको छ । मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । तर पेट्रोल र डिजेलबाट चल्ने गाडीको आयातमा २४० देखि ३०० प्रतिशतसम्म भन्सार महसुल रहेकोले पनि विद्युतीय गाडीको आयात बढेको हो । त्यस्तै, अन्य गाडी किन्दा ५० प्रतिशतमात्रै बैंक कर्जा पाइने व्यवस्था रहेको छ तर विद्युतीय गाडी किन्दा ८० प्रतिशत कर्जा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।
हालसम्म यातायत व्यावस्था विभागमा दर्ता भएका विद्युती सवारी साधनको संख्या ६ हजार ९ सय १ पुगेको छ । विभागको स्वीकृति लिएर आयात भएको विद्युतीय सवारीको आयात भएको संख्या करिब ७ हजार पुगेको हो । विद्युतीय सवारि आयात प्रत्येक वर्ष बढ्दो क्रममा रहेको विभागका मेकानिकल इन्जिनीनियर मोहनप्रसाद भट्टराईले बताए । उनले भने, “देशभर दर्ता भएको विद्युतीय सवारीको संख्या भने साढे ३३ हजार भन्दा बढी हुन सक्नेछ।” यो तथ्याङ्क गत आर्थिक वर्षको फागुन मसान्त सम्म दर्ता भएका सवारिको संख्या भएको विभागले जनाएको छ ।

प्रदेश सरकारबाट सवारी दर्ताको आधिकारीक तथ्याङ्क नियमित आउन नसकेकाले विभागले आधिकारिक सवारी दर्ताको तथ्याङ्क उपलब्ध गराउन नसकेको विभागको भनाइ छ । विभागका अनुसार देशभर साना ठूला गरेर गत आर्थिक वर्षको फागुन मसान्तसम्म करिब ३५ लाख ४० हजार सवारी साधन दर्ता भएका छन् ।
पछिल्लो समय विद्युतीय सवारी राज्य तथा नागरिकहरूमा धेरै चासोको विषय बनेको छ । सवारीसाधनले प्रदूषण बढाउन ठूलो भूमिका खेलेकाले डिजेल-पेट्रोलबाट चल्ने सवारी साधनको विकल्प खोज्न थालिएको हो । त्यसको सबैभन्दा उपयुक्त विकल्पको रुपमा विश्वका ठूला सवारी निर्माताहरूले समेत विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिन थालेका छन् । दुईपांग्रे सवारीमात्र होइन, चारपांग्रे सवारी हुँदै ठूला मास ट्रान्सपोर्टका साधन उत्पादनमा समेत विभिन्न कम्पनीहरूले ठूलो धनराशि खर्चन थालेका छन् ।
विश्वभर विद्युतीय सवारीको चासो बढिरहेको छ । संसारका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरूले विद्युतीय सवारी उत्पादनमा आफूलाई अब्बल सावित गर्न प्रयासरत रहेका छन् । सवारी उत्पादक कम्पनीहरूले मात्र होइन, धेरै मुलुकहरूले समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएका छन् । कतिपय देशहरूले एउटा सहरलाई इन्धनबाट चल्ने सवारीमुक्त सहरको रुपमा घोषणा गर्ने क्रममा छन् भने केहीले गरिसकेका छन् । छिमेकी मुलुक भारतमा समेत विद्युतीय सवारी प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।
सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले पनि विद्युतीय सवारीको उत्पादन र त्यसमा प्रयोग हुने व्याट्री सस्तोमा कसरी उत्पादन गर्न सकिन्छ भन्ने व्यापक अनुसन्धान गरिरहेको छ । नेपालमा सुन्दर यातायात प्रालिले आगामि ९ महिनाभित्र विद्युतीय सवारी साधन नेपालमा नै एसेम्बल गर्ने गरी तयारी थालेको छ । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बिएके चाइनिज कम्पनीको सहकार्यमा सुन्दर यातायातले एसेम्बल प्लान्ट स्थापना गर्न तयारि गरिरहेको छ । प्रालिले रूपन्देहीको मोतिपुरमा प्लान्ट निर्माण गर्नका लागि १२ विघा क्षेत्रफलमा रहनेछ । कुल १० अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनियाँ कम्पनीको र २५ प्रतिशत नेपालीको हिस्सा रहनेछ ।