केशव समर्पण
बुधवार, मंसिर १८, २०७६
650

हेटौंडा-प्रदेशअन्तरर्गत सवारी दर्ता सुरु भएसँगै सवारी धनीले आफूखुसी नम्बर प्लेट लेखन गर्दा कानुन कार्यान्वयन फितलो बनेको छ । कानुनमा तोकिएभन्दा फरक ढंगले नम्बर प्लेट लेखन गर्ने प्रवृत्ति बढ्दा पनि नियमनकारी निकायले भने खासै चासो दिएको छैन ।
प्रदेश ३ का सरकारी कर्मचारीदेखि निजी नम्बर प्लेटका अधिकांश सवारीमा तोकिएको कानुनभन्दा विपरीत नम्बर प्लेट लेखन भएको छ । प्रदेश कोड नम्बरसहित उल्लेख भई दर्ता भएका सवारीले कानुनअनुसार सवारीको अगाडिको भागमा दुईलाइन र पछिल्लो भागमा तीन लाइनमा तोकिएबमोजिम नम्बर प्लेट राख्नुपर्नेमा सवारी धनीले त्यसको बेवास्ता गरेका छन् । जसका कारण सडकमा गुड्ने सवारीको नम्बर प्लेटमा एकरुपता आउन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६३ ले दिएको अधिकार प्रयोग गर्दै सोही नियमावलीको अनुसूची ६ हेरफेर गरी सवारी साधनको नम्बर प्लेटको आकार र नम्बर लेखन बिधि परिवर्तन गरेको छ । मन्त्रालयले गत २०७५ साल कात्तिक ८ गते नै संशोधित नियमावली राजपत्रमा प्रकाशित गरेता पनि पूर्ण रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन ।
संशोधित नियमावलीअनुसार अञ्चल संकेतको ठाउँमा प्रदेश संकेत राखिएको छ । सवारीको अगाडिको नम्बर प्लेट तल र माथि गरी दुई लाइनमा र पछाडिको नम्बर प्लेटमा तल र माथि गरी तीन लाइनमा अंक र अक्षर राख्नुपर्ने उल्लेख गरिएको छ । दुईपाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि एक लाइनमै लेख्न पाइनेछ । पछाडि भने तीन लाइनकै हुनुपर्नेछ ।
नयाँ व्यवस्थाअनुसार पछाडि राखिने नयाँ नम्बर प्लेटमा पहिलो लाइनमा प्रदेश संकेत स्वरूप प्रदेशको नं. उल्लेख हुनुपर्नेछ । सोही लाइनमा उक्त प्रदेशको यातायात कार्यालयको संकेत नम्बर राखिनेछ । दोस्रो लाइनमा ३ अंकसम्मको लट नम्बर रहनेछ । दोस्रो लाइनमै सवारी साधनको समूह सूचक अक्षर राखिनेछ । त्यसपछि अन्तिम लाइनमा सवारी साधनको नम्बर उल्लेख हुनेछ । अगाडिको नम्बर प्लेटको हकमा पहिलो लाइनमा प्रदेश संकेत स्वरूप प्रदेशको नम्बर र प्रदेशको यातायात कार्यालयको संकेत नम्बर उल्लेख हुनेछ । दोस्रो लाइनमा ३ अंकसम्मको लट नम्बर, सवारी साधनको समूह सूचक अक्षर र सवारी साधनको नम्बर उल्लेख गर्नुपर्नेछ ।
यातायात व्यवस्था विभागले केहीदिनअघि सूचना प्रकाशित गरी सवारी साधनको नम्बर प्लेट कानुनमा तोकिएबमोजिम लेख्न सबै सवारी धनीलाई आग्रह गरेको छ । तोकिएबमोजिम नम्बर प्लेट नलेख्ने सवारीलाई कारबाही गरिनेसमेत चेतावनी दिएको छ । नयाँ व्यवस्था लागू भएको एक वर्षभन्दा बढी भइसक्दा पनि सवारी नम्बर प्लेट लेख्नेको अनविज्ञताको कारण धेरै सवारीमा नियमविपरीत सवारी नम्बर प्लेट लेख्ने काम भएको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाको भनाइ छ ।
सवारीको दर्ता नम्बर लेख्दा कानुनविपरीत भएको पाइएपछि आफूहरुकोमा दर्ता हुने सवारीको धनीलाई नम्बर प्लेट लेख्ने कानुनबारे सचेत गराउन थालिएको प्रमुख थापाले बताए । “नियमानुसार नम्बर प्लेट नलेख्ने सवारी धनीलाई पनि सच्याउन भनेका छौं भने नयाँ दर्ता हुने सवारी धनीलाई पनि हामीले नियमबारे स्पष्ट जानकारी गराउन थालेका छौं ।” कार्यालय प्रमुख थापाले भने । प्रदेश संरचनाअनुसार नम्बर प्लेट लेख्न सुरु भएदेखि सवारीधनीमा अन्योलता भएको देखिएकाले कानुनबमोजिम सबै नम्बर प्लेट लेखनमा एकरुपता ल्याइने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।