कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
518

काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायातको लागि विद्युतीय बस सञ्चालनमा आएको छ । सुन्दर यातायात प्रालिले सञ्चालनमा ल्याएको विद्युतीय बसको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक औपचारिक कार्यक्रममा शुभारम्भ गरे ।
छिमेकी मुलुक चीनबाट सुन्दर यातायात प्रालिले सुन्दर यातायात ट्रेडर्ससँग विद्युतीय बस आयात गरेको छ । सोमबारबाट २ वटा विद्युतीय बसबाट सेवा सुरु गरेको सुन्दर यातायात प्रालिले १ महिनाभित्र १८ बस सञ्चालनमा ल्याउने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादर थापाले बताए । कम्पनीले काठमाडौंको अलावा बुटवल र विराटनगरमा समेत चाँडै विद्युतीय बस सञ्चालनमा ल्याउँदै छ । कम्पनीले काठमाडौं उपत्यकामा चक्रपथ परिक्रमा गर्नेगरी बस सञ्चालन गर्नेछ ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारले लिएको सुन्दर नेपालको परिकल्पनामा सुन्दर यातायातले सञ्चालनमा ल्याएको विद्युतीय बसले टेवा पु-याउने बताए । नेपालको व्यापार घाटा कम गर्नको लागि विद्युतीय सवारीले सहयोग पु-याउने बताउँदै मन्त्री पोखरेरलले सरकारले विद्युतीय सवारीमा जोड दिएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुनले १ मेगावाट बिजुली प्रयोग गर्दा २३ सय लिटर पेट्रोल बचत हुने बताउँदै विद्युतीय सवारीमा जोड दिनुपर्ने बताए ।
सुन्दरले सञ्चालन गर्ने चार बसमध्ये दुई वटा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने रहेको र अन्य दुई बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने रहेका छन् । ठूलो साढे १० मिटर र सानो साढे आठ मिटर लम्बाइको रहेको कम्पनीले जनाएको छ । ठूलो १ करोड ६२ लाख र सानो १ करोड ५३ लाखमा खरिद गरेको हो । कम्पनीले सेवा सुरुवात गरेको अवसरमा ३ दिनसम्म यात्रुलाई निःशुल्क सेवा प्रदान गर्ने अध्यक्ष थापाले बताए ।
कम्पनीले ‘स्मार्ट कार्ड’ प्रयोगमा ल्याएर यात्रुलाई भाडामा आन्तरिक छुटसमेत दिने जनाएको छ । सो कार्डमार्फत् भाडामा २० प्रतिशतसम्म यात्रुलाई छुट दिने थापाले बताए । कम्पनीले २१५ रुपैयाँ मूल्यको कार्ड बिक्री गरी सो कार्डमार्फत् छुट दिने जनाएको छ ।
डिजेलबाट चल्ने बसको तुलनामा विद्युतीय बसको सञ्चालन खर्च कम हुनेछ । यसले गर्दा नेपालको व्यापार घाटामा कमी आउने र वातावरण समेत प्रदूषण कम हुने कम्पनीको भनाइ छ ।
बसलाई चार्ज गर्नको लागि गत हप्ता नै कम्पनीले सुन्दरको ग्यारेजमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । स्टेसनमा एकैपटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ । प्रतियुनिट ४ रुपैयाँ २० पैसामा विद्युतीय सवारी चार्ज गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सरकारले अनुमति दिएको खण्डमा सितापाइला, सुकेधारा र सातदोबाटोमा पनि चार्जिङ स्टेसन निर्माण गर्ने बताएको छ ।
सरकरले चार्जिङ स्टेसन निर्माण, सञ्चालन मापदण्ड तयार गरेर विद्युत् प्राधिकरणमा पठाएको र चाँडै कार्यान्वयनमा आउने जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । नेपाल विद्युत् प्राधिकरणले देशभरका ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । सुरुमा २० चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको प्राधिकरणले विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि ५० चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले पाँच वर्षभित्र २० प्रतिशत विद्युतीय सवारी साधन पु-याउने लक्ष्य राखेको छ । सरकारले साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ ।

 


सरकारले विद्युतीय सवारीसाधन प्रोत्साहन गर्नुपर्छ

भेषबहादुर थापा
अध्यक्ष, सुन्दर यातायात प्रालि
निजी स्तरको लगानीबाट पहिलो पटक नेपालमा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने उद्देश्यले सन् २०१८ मा सुन्दर यातायात प्रालिको स्थापना भएको हो । सुन्दर यातायातले सार्वजनिक यातायात सञ्चालनको लागि ७ वटा विद्युतीय बस ल्याएको छ । सोमबार ४ वटा बस सञ्चालनमा ल्याएका छौं र तीन बस जगेडामा राखेका छौं । १ महिनाभित्र थप ११ वटा बस सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ । काठमाडौं उपत्यकामा १८ वटा विद्युतीय बस चलाएर सार्वजनिक यातायातबाट आम सर्वसाधारणलाई सेवा दिने आन्तरिक तयारी र लक्ष्यसहित कम्पनी अगाडि बढेको छ ।
चालू आर्थिक वर्षमा नै काठमाडौं उपत्यकामा २५ वटा बस पु-याउने छौं । कम्पनीले १ र ५ नम्बर प्रदेशमा १० विद्युतीय सवारी सञ्चालनमा ल्याउँदैछ । यस आर्थिक वर्षभित्र नै दुबै प्रदेशमा ४ बस थप गर्दै बसको संख्या १४ पु-याउने छौं ।
४० सिट क्षमताको बसमा ३० जना अन्य यात्रुले सवार गर्न सक्नेछन् । १ नम्बर प्रदेशमा विराटनगर–धरान, विराटनगर–काँकडभिट्टा सञ्चालन गर्नेछौं ।कम्पनीले हेटौंडामा पनि साढे ११ मिटरको बस २ महिना भित्र्याउँदैछ । बसमा ७ वटा सिसि क्यामेरा जडान गरिएको छ । साढे १० मिटरको बसमा तीन थान एसी जडान गरिएको छ । यात्रुले इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबाट पनि भाडा भुक्तानी गर्न सक्नेछन् । ‘काठमाडांै सुन्दर कार्ड’ प्रयोगमा ल्याइनेछ । यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ, जसमा २ सय ६५ रुपैयाँ ब्यालेन्स रहनेछ । योबाहेक विद्यार्थी, अपांग, वृद्धवृद्धाको लागि पनि छुट कार्ड हुनेछ । जसको लागि पाँच थान इलेक्ट्रोनिक पेमेन्ट सिस्टम जडान गरेका छौं । टिकट पनि डिजिटल नै दिन्छौं । टिकटमा कहाँबाट बसमा चढेको विवरण हुन्छ ।
यात्रुलाई सेवासुविधा दिने योजनासहित हामी आएका छौं । सुपर चार्जिङ मेसिन पनि ल्याएका छौं । बसमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) समेत जडान गरिएको छ । साथै बसमा नेटको सुविधा पनि रहेको छ ।
ठूला बसको नेपाली मूल्य १ करोड ६२ लाख रुपैयाँ र साना बसको १ करोड ५३ लाख रुपैयाँ परेको छ । कम्पनीले यात्रुलाई २० प्रतिशत आन्तरिक छुट समेत दिनेछ ।
सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सहजीकरण गर्ने नीति ल्याउनुपर्छ । त्यसपछि मात्र विद्युतीय सवारीमा लगानी बढेर जान्छ । सरकारले विद्युतीय सवारीमा जोड दिनु आवश्यक छ । हामी सम्पूर्ण यात्रु महानुभावलाई विद्युतीय सवारी प्रयोग गर्नको लागि अनुरोध गर्छौं ।
वातावरण सुन्दर बनाउनको लागि हामीले विद्युतीय सवारीमा जोड दिनुपर्छ । जसले गर्दा मानव स्वास्थ्यमा समेत सुधार हुनेछ ।
यात्रुहरुलाई सर्वसुलभ भाडादरमा सुरक्षित रुपले गन्तव्यमा पु-याएर स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र उच्च गुणस्तरीय सेवा प्रवाह गर्नु कम्पनीको मूल लक्ष्य रहेको छ । साथै विद्युतीय यातायात क्षेत्रका नवप्रवर्तन र अनुसन्धान क्षमता विस्तार गरी वैज्ञानिक सेवा प्रणालीको विकास गर्ने सोच छ । नेपालमा ठूलो मात्रामा विद्युत उत्पादन गर्ने जलसम्पदा हुँदाहुँदै पनि खनिज इन्धनमा ठूलो अर्थतन्त्र खेर गइरहेको हुँदा सुन्दर यातायातले इन्धन जडित खर्च र वातावरण प्रदूषणलाई केही हदसम्म भए पनि कम गर्ने लक्ष्य लिएको छ ।