दीननाथ बराल
बिहिवार, भदौ ५, २०७६
618

पोखरामा यही भदौ १५ गतेभित्र अनिवार्य रूपमा सम्पूर्ण पोखरा क्षेत्रमा सञ्चालन हुने यात्रुबाहक बसहरूमा ई–टिकेटिङ सिस्टम सञ्चालन गरिने भएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सञ्चालन भएको उक्त सिस्टम यही भदौ १६ गतेसम्म यदि कुनै यात्रुबाहक बसमा उक्त प्रविधि जडान नभएको खण्डमा सवारी साधन अनुमतिपत्र खारेज हुने भएको महानगरले चेतावनी दिएको छ ।
पोखरा क्षेत्रका सातवटा बस कम्पनी, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू सहितको हालै सम्पन्न भएको एक बैठकमा भदौ १६ गतेपछि यदि कुनै बसहरूमा इटिकेटिङ सिस्टम लागू नभए सवारी साधन संचालनको अनुमतिपत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको बैठकमा सहभागी मध्यका एक अमृत शर्मा तिमिल्सिनाले बताए ।

पोखरा बस कम्पनीका सञ्चालकसमेत रहेका तिमिल्सिनाले महानगरको स्मार्ट सिटी बनाउने अभियानमा उक्त सिस्टम लागू गरिएकाले यदि उक्त सिस्टम लागू नगर्ने उपरकम्पनी, सञ्चालक, चालक, सहचालक तथा नियतवश कार्ड प्रयोग नगर्ने यात्रुलाई समेत कारबाही हुने भएको उनले जनाए । उक्त सिस्टम लागू नगर्नेउपर कस्तो कारबाही गर्ने सम्बन्धमा महानगरले निर्णय गर्ने तयारी गरेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । कारबाही स्वरूप निश्चित रकम जरिवाना हुने तयारी गरिएको उनले जनाए । उनका अनुसार यही भदौ ५ गतेभित्र पोखराका अधिकांश बसहरूमा उक्त सिस्टम जडान हुने भएको छ ।

पोखराको छोटो दूरीका यात्रु वहाक बसमा अनिर्वाय रूपमा भदौ १ गतेदेखि सुरु हुन भनिएको उक्त सिस्टम डिभाइस आउन ढिलाइ भएका कारण भदौ ५ गतेदेखि पोखरा क्षेत्रमा पूर्णरूपमा ई–टिकेटिङ सिस्टम लागू हुने भएको व्यवसायीहरू बताउँछन् । पोखरा बस कम्पनीका सञ्चालक तिमिल्सिनाले भदौ १ गतेदेखि सबै बसहरूमा ई–टिकेटिङ सिस्टम लागू गर्ने भनेकोमा हङकङबाट आउनुपर्ने डिभाइस आउन केही दिन ढिलाइ भएकाले ढिलोमा भदौ ६ गतेदेखि पोखरामा अनिवार्य रूपमा ई–टिकेटिङ सिस्टम लागू हुने दाबी गरे ।
उनका अनुसार पोखरामा हाल करिब ५ सयवटा बसहरूमा ई–टिकेटिङ सिस्टमका लागि डिभाइस र सफ्टवेयर जडान भएको छ बाँकी ३ सयभन्दा बढी केही दिनमै जडान गरिने भएको छ । यात्रुहरूले उक्त मेट्रो कार्ड खरिद गर्न १ सय ३५ रुपैयाँ तिरेर पनि शून्य ब्यालेन्समा कार्ड पाउने भएका छन् भने अन्यथा पासपोर्ट साइजको एक प्रति फोटो र परिचयपत्र खुल्ने आईडी कार्डको फोटोकपीको आधारमा एउटा फम भरेर एक सय रुपैया ब्यालेन्स भएको कार्ड लिन सक्छन् । १ सय रुपैयाँ धरौटी स्वरुप यात्रुसँग लिने भएको छ ।
उक्त सिस्टम लागु भएसँगै आर्थिक पारदर्शी, भाडाको विषयमा हुने विवादको अन्त्य हुने सञ्चालक तिमिल्सिनाले बताए । यात्रुहरूले कार्ड प्रयोग गर्दा उनीहरूको रेकर्डसमेत हुने हुँदा छुट भएको यात्रुले यदि सामान बसमा छुटाएको अवस्थामा हराउने कम सम्भावना हुने सञ्चालक तिमिल्सिनाले बताए । उक्त कार्ड प्रयोगकर्तालाई पोखरा बस कम्पनीले चढ्न साथ न्यूनतम १३ रुपैयाँ, यदि नगद भाडा दिनेसँग १४ रुपैयाँ लिने भएको सञ्चालक तिमिल्सिनाले जनाए । उक्त कार्ड प्रयोग कर्तालाई भने २० रुपैयाँ भाडा लाग्ने ठाउँमा भने २ रुपैयाँ छुट, ४० रुपैयाँसम्मको ४ रुपैयाँ छुट र ५० रुपैयाँसम्म भाडा लाग्ने ठाउँमा ५ रुपैयाँ छुटको व्यवस्था गरेको उनले जनाए । ज्येष्ठ नागरिकलाई दुई आरक्षण सिटसहित
विद्यार्थीहरूलाई ४५ प्रतिशतसम्मको छुटको समेत व्यवस्था गरिएको उनले जनाए ।उक्त कार्यमा भएको ब्यालेन्स सकेपछि पुनः उक्त कार्ड फिर्ता गरेमा एक सय रुपैयाँ धरौटी फिर्तासमेत हुने भएको छ । पुनः रिचार्ज गर्दा उक्त सिस्टम लागूको बैंकिङ पाटनर ओम डेभलपमेन्ट बैंक तथा सहचालकहरूसँग समेत गर्न सकिने भएको छ । ओम डेभलपमेन्ट बैंकका सीईओ विश्वमोहन अधिकारीले पहिलो चरणमा
आफूहरूबाट १० हजार कार्ड वितरण गर्ने तयारी भएको जनाए । उनका अनुसार करिब ७ सय कार्ड वितरण गरिएको छ ।
मेट्रो कार्ड पोखरा महानगरपालिकाका अधिकांश वडा कार्यालय, ओम बैंकको शाखा, बस कम्पनीहरूका कार्यालयबाट वितरण भएको छ । पोखरा महानगपालिका संरक्षक छ ।
उक्त कार्डमा न्यूनतम १ सयदेखि अधिकतम १ हजार रुपैयाँसम्मको ब्यालेन्स हुनेछ । यो सिस्टम सुरु भएपछि यात्रुहरूले पहिलो पटक बसका सहचालकलाई कार्ड देखाएर स्मार्ट पोस्ट डिभाइस मेसिनमा छुने र झर्ने बेलामा पछि उक्त मेसिनजमा छुदा आवश्यक शुल्क कार्डबाट काटिने सिस्टम लागू हुनेछ ।