लक्ष्मण ढुंगाना
बुधवार, भदौ ४, २०७६
468

बाँके- नेपालगन्ज भन्सार कार्यालयमा लिलामी नहुँदा वर्षौंदेखि लाखांै मूल्यका सवारी साधनहरू थन्किएका छन । भन्सार तथा प्रहरीले अवैध रूपमा नियन्त्रणमा लिएका करिब २ सय ५० थान मोटरसाइकल र दुइटा जिपको मूल्यांकन गर्न ढिलाइ भएका कारण लिलाम प्रक्रिया सुरु नभएको हो ।
करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधनहरू अझै लिलाम बिक्री हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका ती सवारी साधनहरू जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । तर, कर्मचारी अभावको कारण जनाउँदै मूल्यांकन कार्य गर्न ढिलाइ भएको जनाइएको छ । समयमै लिलाम गरेको भए ती सवारी साधनबाट २ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान नेपालगन्ज भन्सार कार्यालयको छ ।
तीन वर्षअघि मात्र चोरीका सवारी साधन लिलाम गरी नेपालगन्ज भन्सारले २ करोड ४३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यातायात कार्यालयले २० वर्ष पुराना गाडी दर्ता नगर्ने भएकाले त्यसैलाई आधार बनाएर उत्पादन वर्ष नखुलेको भन्दै नयाँ र चालु अवस्थाकै गाडीहरू लिलाम गर्न नसकेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
सवारी साधन लिलाम मूल्यांकन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, यान्त्रिक कार्यालय, कोष लेखा तथा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य संघ प्रतिनिधि रहने प्रावधान छ । उक्त समितिले लिलाम बिक्रीमा चासो नदेखाउँदा बरामद भएका सवारी साधन लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।