कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
449

हेलमेट चालकको टाउकोको सुरक्षाका लागि महत्वपूर्ण रहँदै आएको छ । त्यसैले नेपालमा सरकारले नै मोटरसाइकल चलाउनेका लागि हेलमेट अनिवार्य गरेको छ । तर सरकारी नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने परम्परा हामीमाझ रहँदै आएको छ ।
यसले दुईपांग्रे सवारी चलाउनेहरुमा नेपाल र भारत दुवै मुलुकमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । नेपालमा पनि ५ सयदेखिकै हेलमेट पाइन्छ । यो नक्कली हेलमेट हुन सक्छ । यसले दुर्घटनामा तपईंको टाउकोको सुरक्षा मात्रै गर्न नसक्ने भएर दुर्घटना नै नभएको समयमा पनि आँखाका लागि पनि खतरनाक हुन सक्छ ।

नक्कली हेलमेट आँखाका लागि खतरनाक
नक्कली हेलमेट बनाउनका लागि कम गुणस्तरको सामान प्रयोग गरिन्छ । यसमा राखिएको भाइजर पनि सुरक्षित हुँदैन । जसका कारण चर्को घाममा आँखाको सुरक्षा हुँदैन । यतिमात्रै होइन, राति अगाडि आएको सवारीको हाईबीम गाढा प्रकाशले आँखाको हेर्ने क्षमतामा कमी ल्याउँछ । जबकी राम्रो गुणस्तर भएको ओरिजिनल हेलमेटमा यूभी सुरक्षा भएको भाइजर राखिएको हुन्छ । जसले घामबाट तपाईंको आँखालाई सुरक्षित राख्छ । यसका साथै यसले अनुहारमा घामबाट पर्ने असरलाई पनि कम गर्छ ।

कसरी चिन्ने नक्कली हेलमेट ?
हाल नेपाल र भारतको बजारमा करिब ८० प्रतिशत हेलमेट नक्कली बिक्री भइरहेको बताइएको छ । यदि तपाईंलाई कसैले ५ सयदेखि १ हजार रुपैयाँसम्मको हेलमेट बिक्री गरिरहेको छ भने जान्नुस् तपईंको हेलमेट नक्कली हो । किनकी आईएसआई मार्क भएको हेलमेट यति सस्तो मूल्यमा बन्न सक्दैन । आईएसआई मार्क भएको हेलमेट बनाउनका लागि कम्तीमा पनि ८ सय रुपैयाँ लाग्छ । भन्सार, ढुवानी शुल्क आदि जोड्ने हो भने यो हेलमट १ हजार रुपैयाँको हाराहारीमा पाउनका लागि मुश्किल पर्छ ।