कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
425

काठमाडौं । नेपालका लागि टिभिएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर प्रत्येक घरमा टिभिएस बाइक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सँगको सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले गरेका थिए । त्यसैगरि प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिति रहेको थियो । अतिथिको रुपमा नाटुका सम्पूर्ण पदाधिकारीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा टिभिएस सर्भिस हेड अमर दीप मजुमदरले सहभागीलाई स्वागत गरेका थिए ।

नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि ५१ हजार रुपैयाँ सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटुमार्फत् बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।
काठमाडौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दिपककुमार अग्रवालले प्रकाश पारेका थिए । उनले भने, “टिभिएस अहिले नाटुसँग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकास भएको हुँदा मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक छ । हामीले दस हजार भन्दा बढि मेकानिक्सहरुलाई तालिम प्रदान गरिसकेका छौं । तालिममात्र होइन हामीले देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यको साथसाथै टिभिएसको डिलर सम्म बन्न सकुन् भन्ने उद्देश्य लिएका छौं । ‘साथ छ हाम्रो’, एक घर एक टिभिएस जस्ता महत्वपूर्ण नारालाई व्यवहारमा लागू गरिसकेका छौं । मोटरसाइकल, स्कुटर र तिनपांग्रे सवारीसाधनमा अहिलेको समयमा चाहिने नयाँ विषेशताहरु समावेश गरेका छौं ।”
केही मेकानिक्सहरुलाई टिभिएसको फ्याक्ट्रीमा तालिमको व्यवस्था दिने बारेमा पनि सोचिरहेको अग्रवालले जानकारी दिए । उनले भने, “टिभिएस एउटा बहुराष्ट्रिय कम्पनी हो यसको इतिहास लामो छ । हामीले ग्राहकवर्गहरुलाई निरन्तर गुणस्तरीय सेवा दिने कुरामा कुनै पनि सम्झौता गरेका छैनौं । हामीले एक घर एक रोजगारको पनि अवधारणा निर्माण गरिरहेका छौ । हामीले सधै अटोमोबाइलको क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरुलाई नै आधिकारीक डिलर दिने गरेका छौं ।” तसर्थ सबैले आफ्नो व्यवसायलाई व्यापक बनाउनका लागि निरन्तर रुपमा लागिपर्न उनले आह्वानसमेत गरेका छन् । टिभिएसको १०० भन्दा बढी डिलर नेटवर्क र २०० भन्दा बढी सर्भिस नेटवर्कमार्फत् गुणस्तर सेवा, जेन्यूइन पार्टस् र ल्युबको उपलब्धतालाई सरल र व्यापक बनाइएको उनले जानकारी दिए ।
कार्यक्रममा यस अभियानका ब्रान्ड एम्बेस्डरका रुपमा माधव पाण्डेलाई घोष्णा गरिएको थियो ।
टिभिएसको टिभिएस साथ छ एक सफल अभियान हो । अभियानअन्तर्गत ६७ स्थानहरुमा ३ हजार मेकानिकलाई तालिम दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।