केशव समर्पण
बिहिवार, जेठ ९, २०७६
489

७२ घण्टामै दिइयो स्मार्ट लाइसेन्स

प्रदेश ३ को राजधानी हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र नवीकरण तथा नयाँ दर्ता गर्न सकिने भएको छ । प्रदेशअन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले बुधबारबाट सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सुरु गरेको छ । ट्रायल सेन्टरको व्यवस्थापन हुने क्रममा रहेकाले नयाँ अनुमतिपत्रको लागि भने केही समय कुर्नुपर्ने बताइएको छ ।
संघीयता कार्यान्वयनपछि पहिलो पटक गत माघ ९ गतेबाट प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु गरेको कार्यालयले सवारी चालक नवीकरणको काम भने भर्खर सुरु गरेको हो । बुधबार प्रदेश ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले २६ जना सेवाग्राहीको सवारी अनुमतिपत्र नवीकरण गरी ‘स्मार्ट कार्ड’ वितरण गरी सेवा शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले हेटौंडा–१, चौकीटोलका शिवकुमार थापालाई कार्यालयमार्फत पहिलो स्मार्ट लाइसेन्स प्रदान गरेका थिए । सेवाग्राहीले नवीकरणका लागि निवेदन दिएको ७२ घण्टाभित्रै यातायात व्यवस्था विभागसँग समन्वय गरी स्मार्ट लाइसेन्स प्रिन्ट गरी प्रदान गरिएको थियो । यसअघि हेटौंडालगायत साविकको नारायणी अञ्चलका सेवाग्राहीहरू सवारी चालक अनुमतिपत्र नवीकरण तथा नयाँ बनाउनको लागि वीरगञ्ज पुग्नुपर्ने बाध्यता थियो । प्रदेश संरचनाअनुसारको नम्बर प्लेट भएको सवारी दर्ता भने गत माघ महिनादेखि नै सुरु गरिएको छ ।
यातायात व्यवस्था विभागको चालक अनुमतिपत्र दर्ता तथा नवीकरण प्रणाली जोडिएपछि सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण हेटौंडाबाटै गर्न थालिएको कार्यालयका प्रमुख पोषण थापाले बताए । आगामी आर्थिक वर्षबाट हेटौंडामै लाइसेन्स प्रिन्ट गर्ने गरी मास प्रिन्टर मेसिन खरिद प्रक्रिया अगाडि बढेको पनि थापाले सुनाए । तत्काललाई भने काठमाडौंबाटै स्मार्ट लाइसेन्स प्रिन्ट गरी हेटौंडाबाट वितरण गरिने उनले बताए ।
हेटौंडाको विभिन्न स्थानमा निजी क्षेत्रबाट निर्माण भएको ट्रायल सेन्टरहरूको निरीक्षण गर्न सुरु गरिएको बाइएको छ । ‘ट्रायल सेन्टरलाई भाडामा लिएर हामी लाइसेन्स जारी गर्ने कामको सुरुवात गर्ने योजनामा छौं, यसै आर्थिक वर्षभित्र हामी सेवा सुरु गर्ने तयारीमा छौं ।’
सवारी चालक अनुमतिपत्र वितरण सेवाको सुरुवात कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले यातायात कार्यालयले दिने सेवालाई चुस्त दुरुस्त पार्न आर्थिक अनियमितता हुन नदिन निर्देशन दिए । जनशक्तिको अभावको कारण पनि छिटो छरितो सेवा दिन नसकिएको स्वीकार गर्दै उनले आगामी दिनमा त्यसको पनि पूर्ति हुँदै जाने विश्वास व्यक्त गरे । यातायात क्षेत्रमा रहेको विकृत हटाउन आफूले काम गरिरहेको पनि उनले सुनाए । अरु प्रदेशमा भन्दा प्रदेश ३ ले गुणस्तरीय सेवा दिन दावी गर्दै उनले केही कमजोरी भए सच्याइने प्रतिवद्धता जनाए । अन्य प्रदेशको तुलनामा प्रदेश ३ को सवारी दर्ता कर बढी भएको गुनासो आएको भन्दै प्रदेश सरकारले आवश्यकता हेरी ऐन संशोधन गर्ने पनि उनले बताए । यातायात क्षेत्रको समस्या समाधान गर्न केही समयअघि कार्यदल बनाइएको स्मरण्या गराउँदै मुख्यमन्त्री पौडेलले कार्यदलको प्रतिवेदन आएपछि सोही अनुसार अघि बढिने बताए ।
कार्यक्रममा प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, हेटौंडा–११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुलीलगायतले कार्यालयले सेवा विस्तार गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यालयका अधिकृत सुरेशकुमार चापागाईंले कार्यालयले गरेको अन्य गतिविधिबारे बताएका थिए ।
तीन नम्बर प्रदेशअन्तर्गत १० वटा यातायात कार्यालय रहेका छन् । ती कार्यालयबाट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान तथा नवीकरण गर्ने काम पनि हुनेछ । गत माघ महिनादेखि सेवा सुरु गरिए पनि सवारी दर्ता दर भने निकै न्यून रहेको पाइएको छ । कार्यालयमा हालसम्म करिब एकसय ४५ सवारी मात्र दर्ता भएका छन् । अन्य प्रदेशको भन्दा प्रदेश ३ को सवारी दर्ताको कर १० प्रतिशत बढी रहेको कारण पनि दर्ता गर्न अनिच्छा देखाएको हुनसक्ने कार्यालयका अधिकृत सुरेशकुमार चापागाईंले बताए ।
उनका अनुसार हालसम्म नया“ नम्बरको लागि पुरानो दर्ता भएको स्थानबाट सहमति लिएर आएको सवारीमात्र दर्ता भएको बताए । हालसम्म साना सवारी ८० वटा, ठूला २५ वटा, सरकारी नौवटा र निजी ३० वटा सवारी अन्य स्थानबाट सहमति गरी ल्याएर दर्ता भएका छन् ।