अमरराज आचार्य
मंगलबार, जेठ ७, २०७६
357

केही वर्षयता दाङमा निजी सवारी साधनप्रति उपभोक्ताको आकर्षा बढेको छ । यससँगै चार पांग्रे निजी सवारीको बिक्री पनि बढेको व्यवसायीहरुले बताएका छन् ।
अहिले जिल्लामा गाडी कम्पनीका शोरुम खुल्ने क्रम बढेको छ । अन्य व्यवसायजस्तै अटो व्यवसायमा पनि लगानी बढ्दै गएको छ । अटो व्यवसाय फस्टाउने सम्भावना देखेर यसमा लगानी बढ्दै गएको हो । मानिसहरुको आर्थिक अवस्थामा सुधार भएकोले गाडी चढ्नेको संख्या वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो २ वर्षमा गाडी चढ्नेको संख्या वृद्धि भएको स्वर्गद्वारी अटो रिकन्डिसन हाउसका सञ्चालक शिवप्रसाद भुसालले जानकारी दिए । उनले सबैजसो कम्पनीका गाडीहरू बिक्री गर्ने गरेका छन् ।
“२ वर्षयता गाडीहरूको संख्या ५० प्रतिशतले बढेको छ,” भुसालले भने । जिल्लामा सहज यातायातको पहँुच, नागरिकको आर्थिक अवस्थामा वृद्धि, सुविधा खोजि गर्नु जस्ता कारणले गर्दा वृद्धि भएको उनले बताए । “कतिपय देखा सिकी गर्नेसमेत रहेका छन्,” भुसालले भने । केहि समय अघिसम्म वर्षमा १ सय २० वटा गाडी बिक्री गर्ने उनले हाल वर्षमा ३ सय गाडी बिक्री हुने गरेको बताए । नयाँ पुराना गरी महिनामा ३–४ वटा गाडी बिक्री हुने गरेको हाल महिनामा १० देखि १२ वटासम्म बिक्री हुने गरेको भुसालको भनाइ छ । यसरी बिक्री हुनेमध्ये पुराना बढी रहेको उनको भनाइ छ । उनले नयाँ पुराना सवै गाडी बिक्री गर्ने गरेको बताए ।
अहिले बुटवल, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, प्युठान, रोल्पा, रुकुम, धनगढीसम्म गाडी बिक्री गर्ने गरेको उनले जानकारी दिए । उनले विगत ८ वर्षदेखि व्यवसाय गर्दै आएका छन् । उनी ५ लाखदेखि ५० लाखसम्मका गाडी बिक्री गर्ने गर्छन् ।
केही महिना अघिमात्र स्थापना भएको एनएल मोटोकर्पले पनि एक महिनाको अवधिमा ५ वटा गाडी बिक्री गरेको जनाएको छ । एनएल मोटोकर्पका सञ्चालक सुदर्शन गिरीले सुरुआतको व्यवसाय ठिकै भएको बताए । एनएल मोटोकर्पले निशान र ड्याटस्नका गाडी बिक्री गर्ने जनाएको छ । “दाङ अटो व्यवसायको सम्भावना बोकेको क्षेत्र भएकाले मैले व्यवसाय सुरु गरेको हुँ,” गिरीले भने । अहिले आफूसँग गाडी किन्न सम्पर्कमा आउनेमध्ये धेरैजसो व्यवसायीहरू नै रहेको उनले बताए ।
यस क्षेत्रमा विस्तारै अटो व्यवसाय बढ्दै जाने उनको भनाइ छ । राप्तीको प्रवेशद्वारको रुपमा रहेको तथा पश्चिम क्षेत्रसँगै पनि सहकार्य गरेर अगाडि बढ्न सकिने भएकोले पनि व्यवसायको लागि उपयुक्त रहेको उनी बताउँछन् । केही समय अघिसम्म काठमाडौंमा रोजगारी गर्दै आएका उनी जिल्ला फर्केर व्यवसाय थालनी गरेका हुन् । समयसँगै नागरिकले सुविधा खोजी गर्ने भएकाले गाडीको माग बढ्दै गएको गिरीले बताए । “समय परिवर्तनसँगै नागरिकका इच्छा चाहनामा समेत परिवर्तन हुँदै गएका छन्, त्यसैले नयाँ नयाँ वस्तुको खोजि हुने गरेको छ,” गिरीले भने । नागरिकहरूको आर्थिक स्थितिमा समेत वृद्धि भएपछि अन्य क्षेत्रमा जस्तै गाडी क्षेत्रमा पनि आकर्षण बढेको उनको भनाइ रहेको छ ।
अटो मार्टका सञ्चालक विपिन श्रेष्ठले भने जिल्लामा गाडीको संख्या वृद्धि भए पनि बिक्री भने वृद्धि नभएको बताए । उनले फोर्ड कम्पनीका गाडी बिक्री गर्ने गरेका छन् । “विगत ३ वर्षदेखि गाडीको व्यापार वृद्धि हुन सकेको छैन,” श्रेष्ठले भने । तर जिल्लामा गाडीको संख्या भने वृद्धि भएको उनी बताउँछन् । ३ वर्षदेखि उस्तै संख्यामा बिक्री हुने गरेको उनको भनाइ रहेको छ । पछिल्लो समयमा जिल्लामा नयाँ नयाँ कम्पनीका शाखा खोलिएका कारण व्यापार बढ्न नसकेको उनले बताए ।
आफूले वर्षमा ६० देखि ६५ वटा गाडी बिक्री गर्ने गरेको उनले जानकारी दिए । हरेक मानिसको घरपछि गाडीको रोजाइमा पर्ने भएकाले यसको व्यवसाय राम्रो हुने भएकोले यस क्षेत्रमा हात हालेको श्रेष्ठ बताउँछन् । उनले विगत २२ वर्षदेखि अटो सम्बन्धी व्यवसाय गर्दै आएका छन् ।