कारोबार संवाददाता
सोमवार, बैशाख ९, २०७६
269

सवारी साधन निर्माता कम्पनी महिन्द्राको ट्याक्टर मर्मत गर्ने सर्भिस सेन्टर र शो रुमको शनिबार उदघाटन गरिएको छ । वीरगन्ज महानगरपालिका–१४ बाइपास नजिकै स्थापना गरिएको सर्भिस सेन्टर तथा शो रुमको वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की र अग्नि ग्रुपका प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । महिन्द्रा कम्पनीले निर्माण गरेको महिन्द्रा गाडीहरु नेपालको अधिकृत विक्रेता अग्नि ग्रुपले ट्याक्टरको पनि बिक्री वितरण गरिरहेको छ ।
कृषि प्रधान देश नेपालमा व्यावसायिक कृषि उत्पादनका लागि किसानहरुको आकर्षण रहेको ट्याक्टरको पनि सर्वसुलभ सेवा प्रदानका लागि मर्मत केन्द्र खोलेको अग्नि ग्रुपका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । नेपालमा साना सवारी साधनमा लोकप्रियता कमाएको महिन्द्रा कम्पनीको ट्याक्टर र मोटरसाइकल पनि बजारमा आएको छ । वीरगन्जमा मर्मत केन्द्र खुलेपछि महिन्द्रा कम्पनीको ट्याक्टर खरिद गरेका ग्राहकहरुलाई मर्मतका लागि कतै भौतारिनु नपर्ने अग्नि ग्रुपका वीरगन्ज शाखा प्रवन्धक प्रमोद क्षेत्रीले बताए । उद्घाटन कै दिन पाँचवटा नयाँ ट्र्याक्टर बुकिङ गरेका ग्राहकलाई ढाका टोपी र गाम्छाले सम्मान पनि गरिएको अग्नि ग्रुपका रवीन्द्र श्रेष्ठले जानकारी दिए ।