कारोबार संवाददाता
मंगलबार, चैत्र ५, २०७५
646

नेपालका लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट आयोजना गरेको छ । यही चैत १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएका प्रतियोगितामा १०८ गल्फरको सहभागिता रहेको थियो ।
प्रतियोगिता स्टेबल फोर्ड विधाअन्तर्गत खेलिएको थियो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

तासी दोङले हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधि जितेका छन् । तासीले समान अंक बनाएका माधव सिम्खडालाई काउण्ट ब्याकको आधारमा पछि पारेका थिए । उपाधिसँगै तासीले एक लाख २० हजार रुपैयाँ बराबरको गार्मीन अप्रोचएस ६० प्रिमियम जिपिएस गल्फ घडी र बस्नेल भी–४ रेन्ज फाइन्दर पुरस्कार पाए । रनरअप भएका माधवले गार्मीन एस ६० जिपिएस गल्फ घडी पुरस्कार पाए । काउण्ट ब्याकमा ३८ अंक बनाएका संगम केसी दोस्रो रनर अप हुँदै गार्मीन अप्रोच एक २० जीपिएस गल्फ घडी पुरस्कार पाए ।
३८ ग्रोस अंक बनाउँदै तासी छिरिङले बेस्ट ग्रोसको उपाधिका साथै गार्मीन अप्रोच एस ६० प्रिमियम जिपिएस गल्फ घडी जिते । ३७ अंकका साथ सिनियरतर्फको उपाधि गोपाल चित्रकारले जिते । १९ अंकका साथ जुनियरतर्फ सत्भाव आचार्य पहिलो भए । महिलातर्फ ३० अंक बनाउँदै कल्याणी मोक्तान पहिलो भइन् । तीनै विधाका विजेताले गार्मीन अप्रोच एस २० जिपिएस गल्फ घडी जिते ।
३८ अंकका साथ समिर आचार्यले हुन्डाई कार वीनर अन्तर्गतको विधा जितेका छन् । क्लोजेस्ट टु द पिनमा गौरव शाह लंगेस्ट ड्राइभमा साम दोवलड र मोस्ट बर्डीमा तासी छिरिङ विजयी भए । तीनै विधाका विजेताले गार्मीन अप्रोच एस २० जिपिएस गल्फ घडी जिते ।