कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५
1667

दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सले जर्मन ब्रान्ड वीटगनका कन्स्ट्रक्सन मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले वीटगन ग्रुपले उत्पादन गरेका विभिन्न रेन्ज तथा भेराइटीका इक्युपमेन्टहरु नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ ।
वीटगनका सामग्री आधुनिक प्रविधिमा आधारित हुने भएकाले नेपाली विकासमा यसको उपयोग उपयुक्त हुने विश्वास दुगड ग्रुपले लिएको छ । वीटगनका कन्स्ट्रक्सन इक्युपमेन्ट १ सय ५० भन्दा बढी देशमा बिक्री हँुदै आएको छ । वीटगनको रोड बनाउने मेसिन निक्कै उपयोगी हुने दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडको भनाइ छ ।

वीटगनको इक्युपमेन्टले पुरानो रोड भत्काएर नयाँ बनाउँदा पुरानो सामग्रीको समेत प्रयोग गर्न मिल्छ । यस्तो मेसिनको प्रयोग गरेर रोड बनाउँदा रोडको लागत समेत पुरानोको तुलनामा ३० प्रतिशतभन्दा कम हुने दाबी गरिएको छ । त्यस्तै वीटगनको मोबाइल क्रसरसमेत रहेको छ । कम्पनीले तत्कालका लागि उक्त मेसिन नल्याएको भएपनि निर्माणकर्ताहरुको मागका आधारमा त्यो समेत उपलब्ध गराउने दुगड ब्रदर्स एन्ड सन्सको भनाइ छ । रोड बनाउने साइटमा निस्किएका चट्टानहरु अहिले त्यतै फाल्ने गरिएको छ । तर मोबाइल क्रसरको प्रयोग गर्ने हो भने त्यस्ता चट्टानलाई तत्काल गिट्टी बनाउन सकिने छ र त्यसलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिने छ ।
त्यस्तै दुगड ब्रदर्स एन्ड सन्सले ल्याएको अर्को ब्रान्ड हो हाम । हामको कम्प्याक्टर कम्पनीले बजारमा उपलब्ध गराइसकेको छ । हामका कम्प्याक्टर नयाँ प्रविधिमा आधारित भएकाले इन्धन खपत कम हुने, वातावरणमैत्री, चालकका लागि आरामदायी सिटलगायत विशेषता रहेका छन् ।
कम्पनीले वीटगन ग्रुपअन्तर्गत रहेका वीटगन, फोगले, हाम र किलमेन ब्रान्डका इक्युपमेन्ट नेपाल भित्र्याउने छ । दुगड ग्रप अन्तर्गत देशभर ३८ वटा शाखाहरु रहेका छन् । कम्पनीले आफ्नो शाखाहरुबाट आवश्यक पर्ने सबै सर्भिस तथा स्पेयर पार्टस्हरु उपलब्ध गराउने छ ।